अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा २०८३ जेठ १२ गते पोखरामा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
इन्सेक गण्डकी प्रदेश मानव अधिकार रक्षक सञ्जालका संयोजक रामहरी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार आयोगका प्रमुख नितु गर्तौला प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै व्यवसाय सञ्चालन गर्दा श्रमिक, उपभोक्ता तथा समुदायको मानव अधिकारको सम्मान, संरक्षण र परिपालनामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकारको विषय आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षसँग प्रत्यक्ष रूपमा जोडिएकाले इन्सेकले सरोकारवालाबीच संवाद र सहकार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका विज्ञ इश्वरमणि भण्डारीले श्रमिकका अधिकार तथा व्यवसायजन्य स्वास्थ्य र सुरक्षासम्बन्धी कानुनी प्रावधानका विषयमा प्रस्तुतीकरण दिनुभयो । साथै मानव अधिकार आयोगका प्रमुख नितु गर्तौलाले पनि कार्यक्रममा आफ्नो प्रस्तुतीकरण दिनुभयो ।

कार्यक्रममा नियोक गण्डकी प्रदेशका संयोजक बिष्णु बरालले श्रमिकको सुरक्षित कार्य वातावरण, श्रम अधिकारको सम्मान तथा कानुनी व्यवस्थाको पालना व्यवसायिक क्षेत्रको दायित्व भएको बताउनुभयो । बरालले सरकारलाई जिम्मेवार र सुशासनयुक्त नबनाई राष्ट्रको विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकल महिला समुहका अध्यक्ष जुना केसीले व्यवसाय र मानव अधिकारबीचको सम्बन्धलाई संस्थागत तथा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेका मौलिक हकको संरक्षणसँगै व्यवसायिक क्षेत्रले मानव अधिकारप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै पोखरा उद्योग वाणिज्य संघका सूचना अधिकारी वासुदेव मिश्रले व्यवसाय क्षेत्रमा विद्यमान बिचौलिया प्रवृत्ति तथा मनपरी चलाउने विकृति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रभावकारी तथा जानकारीमूलक रहेको उल्लेख गर्दै यस कार्यक्रमले व्यवसाय र मानव अधिकारसम्बन्धी विषयमा थप जानकारी तथा सचेतना प्रदान गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका रामहरी ढुङ्गानाले कार्यक्रममा उठेका सुझाव, गुनासा तथा सरोकारका विषयलाई सम्बन्धित निकायसम्म पु¥याई कार्यान्वयनका लागि आवश्यक पहल गरिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायलाई मानव अधिकारमैत्री, उत्तरदायी तथा मर्यादित बनाउन राज्य, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका सहभागीहरूले व्यवसायलाई मानव अधिकारमैत्री बनाउन राज्य, निजी क्षेत्र तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । सहभागीहरूले व्यवसाय र मानव अधिकार एकअर्काका परिपूरक विषय भएकाले यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन, श्रमिक अधिकारको संरक्षण, सामाजिक उत्तरदायित्व, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा, मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका सवालमा सरकार, निजी क्षेत्र तथा नागरिक समाजले साझा प्रतिबद्धताका साथ कार्य गर्नुपर्ने विषयमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा उद्योगी, व्यवसायी, श्रमिक प्रतिनिधि, अधिकारकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






