शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

कैलाली । २०७७ असोज ९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समुहको सहकार्यमा (इएलपी) परियोना अन्तरर्गत शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज ९ गते कञ्चनपुर जिल्लाको पुर्नबास नगरपलिकामा सम्पन्न भएको छ ।

बिजय माध्यामिक विद्यालयका अध्यक्ष बिष्णु बिकले नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्नका लागि नगर स्तरीय शिक्षा समिति गठन भइसकेको बताउँदै विद्यालय सञ्चालनका लागि तयारी भइरहेको बताउनु भयो ।

जनकल्याण माध्यामिक विद्यालयका अध्यक्ष स्थिर  घिमिरेले शिक्षा क्षेत्रमा  काम गर्ने सबैले अधिकारका कुरा मात्र नगरी कर्तव्यको पालना  गर्ने गरी कार्य योजना बनाएर शिक्षाको अधिकारको प्रत्याभूत गर्न सकिने बताउनु भयो ।

जिवन ज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले नगरपालिकाले आफूले लगानी गरेको विद्यालयको मात्र चासो गर्ने  गरेको र अन्य विद्यालयहरुको कुनै वास्ता नगरेको बताउँदै नगरपालिकाले योग्यता पुगेका शिक्षकहरुको बढुवा गर्नु पर्ने र सिकाई सहजीकरण निर्देशिका  २०७७ बमोजिम शिक्षण सिकाईको  बैकल्पिक उपाय अपनाउनु पर्ने बताउनु भयो ।

पुजा जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरुको मनस्थितिमा नकरात्मक असर परेकोले स्थानीय सरकारबाट अनुमति पाउने बित्तिकै विद्यालय खोल्न तयार रहेको बताउनु भयो ।

खप्तड बोडिङ स्कुलका प्रधानाध्यापक मिनकुमार श्रेष्ठले विद्यालय लामो समयसम्म बन्द हुँदा शिक्षकहरुलाई पारिश्रमिक दिन नसकेको अवस्थामा स्थानीय सरकारले व्यवस्थापन  गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष परशुराम बिकले शिक्षाको अधिकार बालबालिकाको मौलिक अधिकार भएकाले स्थानीय सरकारले सुरक्षा मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्नका लागि पहल गर्नु  पर्ने बताउनु भयो ।

 

 

 

मैनामोती चौधरी