शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको समस्या र सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७८ वैशाख १९ गते

शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकारसम्बन्धी समस्या र सरोकारवाला पहिचान कार्यक्रम वैशाख १८ गते कावसोती नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक नवलपुरको आयोजनामा भएको कार्यक्रममा संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि सहयोगको वहानामा शैक्षिक संस्थाले शुल्क लिइएको, विद्यालयमा अपाङ्गमैत्री संरचना निर्माण नभएको, शैक्षिक गुणस्तरमा ध्यान नपुगेको, विद्यालय उमेर समूहका धेरै विद्यार्थीहरुले विद्यालय छाडेको, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नपुगेको, शौचालय र शुद्ध पिउने पानीको समस्या पहिचान गरिएको थियो । शिक्षामा देखिएका सवालहरुको सरोकारवाला निकायहरु नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहलाई पहिचान गरिएको छ । स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा उपलब्ध हुनुपर्ने औषधीहरुको उपलब्धता, दक्ष जनशक्ति, स्वास्थ्य उपकरण, भौतिक संरचनासँगै स्वास्थ्य संस्थाबारे जनचेतनाको अभावहरुलाई समस्याको रुपमा पहिचान गरिएको थियो ।

जसको सरोकारवालाहरुमा स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगर स्वास्थ्य शाखा, तीनै तहका सरकार, स्वास्थ्य कार्यालय र मन्त्रालयलाई पहिचान गरिएको छ । खाद्यान्नहरुको गुणस्तर, त्यसको नापतौल लगायतको विषयमा बजार अनुगमन नभएको, विषादी युक्त खाद्यान्नसम्बन्धी समस्या पहिचान तथा सरोकारवालाहरुमा विभिन्न तह स्तरिय अनुमगन समितीलाई राखिएको छ । आवासको अधिकार सम्बन्धमा भूकम्प प्रतिरोधी संरचना निर्माण नहुनु स्थानीय क्षेत्र अनुसारको मापदण्ड निर्माण नुहँदा समस्या भएको सहभागीहरुले बताउनुभएको थियो । यसमा भवन संहिता निर्माणकर्ता, प्राविधिक सहित स्थानीय सरकार सरोकारवाला निकायको रुपमा पहिचान गरिएको छ ।

इन्सेक नवलपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नपा–१७ का वडा अध्यक्ष छविलाल महतोले शिक्षा, स्वास्थ्य, खाद्य र आवास दैनिक जीवनसँगसम्बन्धी महत्वपूर्ण विषय भएको भन्दै सोसँग सम्बन्धित समस्याहरु समाधानको लागि सबै जना क्रियाशिल हुनुपर्ने बताउनुभयो । शैक्षिक गुणस्तर सुधार र शुल्कको विषयमा तीनै तहको सरकार गम्भीर बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकी मार्फत निःशुल्क उपलब्ध हुने औषधी र सेवाबारे सर्वसाधारणलाई जानकारी नभएको भन्दै उहाँले अब सबै चोकहरुमा सोसम्बन्धी बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सहजीकरण गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकारको अवस्था स्थानीय स्तरमा कस्तो अवस्थामा रहेको छ । त्यहाँ विद्यमान समस्याहरु के के हुन भन्ने विषयमा उहाँले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम मानवअधिकार समूह कावासोतीका सदस्य भुपति भट्टराईको अध्यक्षता र जिल्ला सहजकर्ता गंगा बिकको सञ्चालनमा भएको हो ।

तिर्थराज डुम्रे