शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
इलाम । २०७८ चैत १३ गते
इन्सेकद्वारा सञ्चालित “स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरक्रिया माइजोगमाइ गाउँपालिकामा चैत ११ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निमार्णका अन्तरक्रिया गरिएको इन्सेकद्धारा गठित मानव अधिकार समूह माइजोगमाइका अध्यक्ष रोमप्रसाद आर्चायले बताउनु भयो । कार्यक्रममा श्री ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तराज लामगादेले कक्षा ११ र १२ मा राहत शिक्षक दरबन्दीको अभाव, विद्यालयमा स्वच्छ खानेपानीको आवश्यकता रहेको बताउनु भयो ।
छलफलमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा कोभिड खोप छुटेका व्यतिmहरूको पहिचान गरी घरघरमा गएर खोप लगाउनुपर्ने माग गरेका छन् । खाद्य अधिकारका सवालमा भकारा सुधार कार्यक्रम प्रर्याप्त मात्रामा नभएको, सिञ्चाइ क्षेत्रमा गाउँपालिकाको लगानी कम भएको, निशुल्क बिउबिजन सबैको हातमा नपुगेको र पुगेपनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको, ठाउँ अनुसार र मौसम अनुसारको बिउबिजन गाउँपालिकाले वितरण गर्न नसकेको सरोकारवालाहरूले बताए ।

गाउँपालिकाभित्र भएका वास्तविक विपन्न परिवारलाई सरकारको जनता आवास कार्यक्रमले नसमेटिएकाले वास्तविक विपन्नहरूलाई आवासको व्यवस्था मिलाउन सहभागीहरूले आवाज उठाए । अन्तरक्रियामा माइजोगमाइ गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, गाउँपालिकाका उपाध्यक्ष सावित्रा भट्टराई, माइजोगमाइ गाँउपालिकाका लेखापाल झुमा निरौला, माइजोगमाइ गाँउपालिकाका कृषि शाखा प्रमुख अनिशा राई, मानव अधिकार समुहका सचिव प्रेमप्रसाद भण्डारीलगायतको कार्यक्रमा सहभागिता थियो ।
बविता मैनाली
HUMAN RIGHTS NEWS PORTAL






