सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयक माथि असहमति जनाउँदै रामेछापका नागरिक संस्थाद्वारा ध्यानाकर्षण
रामेछाप । २०८२ भदौ १७ गते
नेपाल सरकारले तयार गरेको सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि असहमति जनाउँदै ०८२ भदौ १७ गते इन्सेक लगायतका नागरिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
मस्यौदा विधेयकमा १८ ओटा संशोधनको माग राखी संशोधन सहितको ध्यानाकर्षण पत्र बुझाइएको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिनुभयो । जिल्लाका १५ ओटा नेटवर्किङ संस्था र १२ ओटा नागरिक संस्थाहरूको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो।
यही मस्यौदा विधेयक कानुन बनेर आएमा नागरिक संस्था चल्नै नसक्ने कँडेलले बताउनुभयो । विधेयकमा सामाजिक संस्थालाई पनि निजी कम्पनी जस्तो बनाउन गरी समाजसेवाको मर्म विपरितका प्रावधान राखिएको भन्दै त्यसमा नागरिक संस्थाले आपत्ति जनाएका बताउनुभयो ।
नवराज पथिक
HUMAN RIGHTS NEWS PORTAL






