मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको २०८३ वैशाख २७ गते जनकपुरधाममा सम्पन्न भएको बैठकले सरकारद्वारा अतिक्रमित जग्गा तथा भौतिक संरचना खाली गराउन विभिन्न स्थानमा भइरहेका गतिविधिलाई अमानवीय भएको ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउँदै मानवोचित व्यवहार गर्न माग गरेको छ ।
सञ्जालका अध्यक्ष राजकुमार महासेठले नागरिकको सुरक्षा र व्यवस्थापन सरकारको दायित्व भएको भन्दै अतिक्रमित जग्गा तथा त्यसमाथि निर्माण गरिएका भौतिक संरचना खाली गराउन भइरहेका गतिविधि मानवीय दृष्टिकोणबाट अनुचित भएको बताउनुभयो । मानव अधिकार रक्षकहरुले त्यस्ता व्यवहार नगर्न र नगराउने सन्दर्भमा आवश्यक पहल गर्नु पर्ने भन्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवानले मानव अधिकार रक्षकहरूलाई अझ प्रभावकारी रूपमा समुदायसँग जोडिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले पछिल्लो समय मधेस प्रदेशमा हिंसा तथा विभेदका घटनाहरू बढ्दै गएको सन्दर्भमा मानव अधिकारको संरक्षणका लागि सञ्जालका सदस्यहरुबीच समन्वय र सक्रियता अझ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा सञ्जालले निरन्तर खबरदारी, अनुगमन र पैरवी गर्दै आएको उल्लेख गर्दै पीडितलाई न्याय दिलाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
बैठकमा सञ्जालका सदस्य एवं इन्सेक सर्लाही प्रतिनिधि बुधन शाहसँग वैशाख २३ गते प्रादेशिक अस्पताल मलङ्गवामा कार्यरत चिकित्सकहरूबाट भएको दुव्र्यवहारका घटनाका सम्बन्धमा सञ्जालले सिघ्र अनुगमन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, मधेस प्रदेशमा तथ्याङ्कीय रूपमा हिंसाका घटनाहरू बढिरहेको देखिएकाले त्यसको न्यूनीकरणका लागि प्रदेशका आठओटै जिल्लामा सञ्जालले अनुगमन गर्ने तथा समन्वयात्मक रूपमा कानुनी प्रक्रियाका लागि छलफल गरी वकालत एवं पैरवी गर्ने निर्णय गरिएको हो। मधेश प्रदेशमा मानवअधिकारको अवस्था विश्लेषण गर्दै हिंसाका घटनाहरु तथ्याङ्क अनुसार बढोत्तरी भइरहेको भन्दै सरोकारवाला पक्षसँग समन्वय गर्नुका साथै अनुगमनको पाटोमा मानवअधिकारकर्मीहरुको भूमिका सक्रिय रहन जरुरी रहेको बैठकका सहभागीहरुले जोड दिए ।

सरकारले अतिक्रमित जग्गा तथा भौतिक संरचना खाली गराउँदा सरोकारवालाले मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने भन्दै आवश्यक परेको खण्डमा कानुनी प्रक्रियामार्फत अघि बढ्दै आवश्यक परेको खण्डमा मुद्दासमेत दायर गर्ने बैठकले सहमति गरेको छ ।
बैठकमा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, सञ्जालका सल्लाहकार सुनिल कुमार शाह तथा सञ्जालका संयोजक राजकुमार महासेठ, सदस्यसचिव ममता विश्वकर्मासहित सदस्यहरू बुधन साह , बलराम शाह, अजय परियार , गौरी न्यौपाने, दुर्गा परियार, जमुना भुजेल, तुलसी भण्डारी, अनिल तिवारी , धीरज शाह, अर्जुन शाह, मुकेश मिश्रा तथा इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार लगायतको उपस्थिति रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






