सिन्धुपाल्चोकको मानव अधिकारको अवस्था बारेमा छलफल
सिन्धुपाल्चोक । २०८२ कात्तिक ७ गते
सिन्धुपाल्चोकको मानव अधिकारको अवस्था बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८२ कात्तिक ७ गते जिल्लाका सुरक्षा निकायसँग छलफल गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद खरेलसँग वर्तमान अवस्थामा जिल्लाको शान्ति सुरक्षा तथा मानव अधिकारको अवस्था बारे छलफल गरेको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा सिन्धुपाल्चोक शान्त रहेको बताउनु भयो । सरकारले निर्वाचनको मिति तोकेपनि जिल्लामा राजनीतिक दलहरुको आपसी बेमेल तथा दल भित्रकै किचलोका कारण निर्वाचन शान्तिपूर्ण हुने कुरामा समस्या रहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो । जिल्लामा सञ्चालनमा रहेका जलविद्युत आयोजना र स्थानीय बासिन्दा बीच हुने विवाद र झडप, जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा रहेको विभिन्न रिसोर्टहरु बीच उत्पन्न वाद विवाद र झैभगडाले पनि शान्ति सुरक्षामा चुनौती थपिएको बास्तोलाले बताउनु भयो । उहाँका अनुसार मानव अङ्गको बेचविखन, महिलाहरु विदेश जाने संख्यामा मुलुककै तेस्रो दर्जामा सिन्धुपाल्चोक पर्ने र विभिन्न खाडी मुलुक गएका महिलाहरु जोखिममा परेका र जिल्ला अदालतमा सम्बन्ध बिच्छेकका मुद्दा अत्याधिक दर्ता हुने गरेकोले पनि जिल्लाको मानव अधिकारको अवस्था पेचिलो बनेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जिल्लामा घरेलु हिंसा, बलात्कारका घटनामा वृद्धि भएको बताउन ुभयो । उहाँले प्रहरीहरुको संख्यामा कमी रहेको, जिल्लाको भूगोल ठूलो रहेकोले पनि नागरिकहरुको अपेक्षा अनुसार सुरक्षाको प्रत्याभूति दिलाउनु समस्या भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सुरक्षाकर्मीहरुको मनोवल खस्केको अवस्था रहेको छ ।
इन्सेकले लामो समयदेखि मानव अधिकारको वकालत तथा पैरवी गर्दै आएकोले यसलाई निरन्तरता दिनुपर्ने इन्सेक केन्द्रीय कार्यालयका कृष्ण नेपालले बताउनु भयो । त्यसैगरी इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले विगत ३७ वर्ष अघिदेखि निरन्तर यो देशमा विधिको शासनका खातिर खबरदारी गर्दै क्रियाशिल रहेको बताउनु भयो ।
नातिबावु धिताल
HUMAN RIGHTS NEWS PORTAL






