कैलाली । २०८२ फागुन १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सन् २०२५ मा सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
इन्सेकले ०८२ फागुन १२ गते धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
यस वर्ष सुदूरपश्चिम प्रदेशमा इन्सेकले गरेको अभिलेख अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्य पक्षबाट सात जना महिला सहित ६४ जना र अन्य पक्षबाट ७ सय २६ महिला सहित ८ सय २५ जना गरी ८ सय ८९ जना पीडित भएको इन्सेकमा अभिलेख गरिएको छ । गत वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्य पक्षबाट एक महिला सहित ११ जना र अन्य पक्षबाट १ हजार ५४ महिला सहित १ हजार ८८ गरी १ हजार ९९ जना पीडित भएका थिए । गत वर्ष भन्दा योे वर्ष २ सय १० जना कम पीडित भएको इन्सेकमा अभिलेख गरिएको छ ।

यस वर्ष इन्सेकले गरेको अभिलेख अनुसार सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट कुटपिट घटनामा एक महिला र एक पुरुष गरी दुई जना पीडित भएको र अन्य पक्षबाट एक महिला र सात पुरुष गरी १० जना पीडित भएका छन् । यसैगरी अन्य पक्षबाट बेचविखनबाट आठ, बलात्काबाट ७६ र यौन दुव्र्यवहार घटनाबाट २१ जना गरी १ सय ५ जना बालिका पीडित भएका छन् । यस वर्ष दुई जनाको जेल भित्र र एक जनाको बाल सुधार गृहमा मृत्यु भएको पाइएको छ । अमानबिय दुव्र्यवहार घटनाबाट एक जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्खमा उल्लेख छ ।
यसैगरी राज्य पक्षबाट ६ जना महिला र ५२ जना पुरुष गरी ५८ जना घाइतेभएका र अन्य पक्षबाट एक महिला र ७६ प्ुरुष गरी ७७ जना घाइते भएका छन् । अन्य पक्षबाट आठ जना महिला र १० पुरुष गरी १८ जनाको हत्या गरिएको र जातिय बिभेदबाट दुई महिला सहित ६ जना पीडित भएको तथ्याङ्क इन्सेकले प्रस्तुत गरेको छ । यसैगरी अन्य पक्षबाट एक जनालाई धम्की, मानव बेचविखनमा एक जना, घरेलु हिंसामा ५ सय २६, दाइजोको कारण तीन जना, परिवारजनबाट ६ जनाको हत्या बलात्कारबाट ६२ जना, बलात्कार प्रयासबाट १० जना र यौन दुव्र्यवहारबाट एक जना गरी ६ सय ९ जना महिला पीडित भएका र नव युवापुस्ताले गरेको अन्दोलनका क्रममा प्रर्दशनकारीहरुले सुदूरपश्चिम प्रदेश अन्तर्गत सरकारी, सर्वाजनिक र नीजि गरी ३ सय ५ ओटा भौतिक संरचनामा क्षति पुगेको इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इन्सेक प्रदेश संयोजक खडकराज जोशीले विगतका वर्ष झै यस वर्ष पनि नेपाल मानव अधिकार वर्ष पुस्तक ३४ औँ संस्करण फागुन ७ गते सार्वजनिक भइसकेको जानकारी गराउँदै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ मा सुदूरपश्चिम प्रदेशमा संंकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो—‘अन्य वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा केही सुधार देखिए पनि राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धी भएको छ । मानव अधिकारको संरक्षण, सम्बर्धन र परिपुर्तिका लागि राज्य थप जवाफदेही हुन आवश्यक देखिएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि तथा इन्सेकका अध्यक्ष विजयराज गौतमले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ मा देशभरि मानव अधिकार उल्लघङ्न तथा ज्यादतीका घटनामा ११ हजार ५ सय ३८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको जानकारी दिनुभयो । भदौ २३ र २४ गतेका घटनामा ७७ जनाको मृत्यु, २ हजार जना घाइते तथा व्यापक भौतिक क्षति भएको उल्लेख गर्दै छानबिन आयोग गठन भए पनि प्रतिवेदन अझैसम्म सार्वजनिक नभएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अत्याधिक बल प्रयोगका कारण प्रहरी संयन्त्रप्रति प्रश्न उठेको भन्दै दोषीमाथि कारबाही हुनुपर्नेमा अध्यक्ष गौतमले जोड दिनुभयो । संक्रमणकालीन न्यायका सवालमा पीडितमैत्री ढंगले काम हुन नसकेको अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै संक्रमणकालिन न्यायसँग सम्बन्धीत मुद्दाहरुलाई सम्बोधन गर्न राज्य गम्भिर हुनु पर्ने समते उहँले बताउनु भयो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो । नागरिकका आधारभूत अधिकारको समेत प्रत्याभूति हुन नसको र मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा कमी आउन नसकेको इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कले देखाएकोले राज्यका निकायहरु मानव अधिकार संरक्षण र सम्बर्धनको क्षत्रमा थप जिम्मेवार र जवाफदेही हुन पर्ने बताएका थिए ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






