सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहको बैठक सम्पन्न

कैलाली । २०८२ असोज ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहकोे बैठक ०८२ असोज ३० गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जेनजी आन्दोलन पश्चात मानव अधिकार, वातावरण अधिकार रक्षकहरुले आ—आफ्नो सुरक्षा सहित सामाजिक न्याय र मानव अधिकार तथा वातावरण अधिकारको विषयमा जनप्रतिनिधिहरुसँग समन्वय र छलफल गरी पालिका र वडा कार्यालयबाट सेवा सुचारु गर्न सहयोग गर्नु पर्र्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले अहिलेको विषम परिस्थितिमा अराजक तत्व मौलाउदै गएको र प्रहरी प्रशासनको मनोबल घटेका कारण सुरक्षामा चुनौती रहेकाले सावधानीपूर्वक दुरदृष्टीका साथ एकअर्कासँग सूचना प्रवाह र समन्वय गर्दै काम गर्नुपर्ने र विवादास्पद कुराहरु जथाभावी सामाजिक सञ्जालमा पोष्ट नगर्न संयोजक जोशीले आग्रह गर्नु भयो ।

अधिवक्ता पुष्पविक्रम शाहीले इन्सेक लगायतका संस्थाले वातावरणीय प्रभाव सम्बन्धी मुद्दा हालेको हुँदा उक्त मुद्दा उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको र अझै पनि समुदायमा वातावरण अधिकार सम्बन्धी घटनाले नागरिकमा परेको असरको बारेमा अनुगमन, तथ्य प्रमाण र सूचना संकलन गरी मानव अधिकार रक्षकहरुले वातावणीय प्रभाव सम्बन्धी मुद्दा हाल्न सकिने बताउनु भयो ।

पत्रकार अर्जुन शाहले अहिलेको संक्रमणकालिन अवस्थामा पत्रकारहरुलाई सूचना संकलनमा व्यक्तिगत सुरक्षामा चुनौती रहेकाले सत्यतथ्य सूचना आउन नसक्दा समाचार सम्प्रेषणमा समस्या भइरहेको बताउनु भयो ।

     

मानव अधिकार रक्षक सञ्जालकी सचिव इन्द्रा दानपालीले जेनजी आन्दोलनको क्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुको घरमा आगजनी भएका कारण महिला जनप्रतिनिधिहरुलाई परिवार, समाज र फोनमार्फत विभिन्न धम्की आइरहने हुँदा कार्य क्षेत्रमा फर्कन डरत्रास र मानसिक तनाब भएकाले आगामी चुनावमा महिला प्रतिनिधि घट्ने सम्भावना बढेको बताउनु भयो ।
मानव अधिकार समूहकी सचिव कमला चौधरीले बेलौरी नगरपालिकामा भौतिक क्षती नभए पनि जनप्रतिनिधिहरुलाई अझैसम्म विभिन्न माध्यमबाट दबाब आइरहेको हुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताउनु भयो ।

पत्रकार प्रेम चौधरीले कैलारी गाउँपालिकामा भन्दा वडा कार्यालयहरुमा बढी क्षती भएका कारण वडा कार्यालयबाट दिइने आंशिक सेवा पालिकाको कार्यालयबाट सुचारु गरेकाले स्थानीय नागरिक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन समस्या भएको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष टेकराज ओझाले गौरीगंगा नगरपालिकामा फोहोरको उचित व्यस्थापन नहुँदा दुर्गन्ध फैलिएर गौरीगंगा नगरपालिकाको—५ राजीपुरका स्थानीय बस्न नसक्ने अवस्थामा रहेकाले पालिकासँग पटकपटक छलफल गर्दा पनि सुनुवाइ नभएको बताउनु भयो ।

मैनामोती चौधरी