पारिवारिक हिंसामा परी अस्पतालमा उपचार गराइरहेकी गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा ०८२ चैत २२ गते १० हजार रुपिँया आर्थिक सहायता प्रदान गरिएको छ । इन्सेक प्रतिनिधि नवराज पथिक, मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ, मन्थली नगर अस्पतालका प्रमुख डा. केशव धामी लगातको उपस्थितिमा मन्थली अस्पतालमा पुगेर पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । तामाङलाई चैत १५ गते राति उनका पति ३६ वर्षीय गोपीलाल तामाङले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । २०७० सालमा प्रेमविवाह गरेकी शर्मिलालाई बिवाह गरेदेखि नै पतिले कुटपीट गर्दै आएको पििडतको भनाई छ । कुटपिटबाट घाइते शर्मिलाको सुरुमा तामाकोशी अस्पताल मन्थलीमा उपचार गरिएको थियोे । दुई दिन पछि मन्थली नगर अस्पतामा उपचार सुरु गरिएकोमा दाँतमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं पठाइएको थियो । काठमाडौंमा दाँतको उपचार गरेपछि पुन : ०८२ चैत २१ गतेदेखि मन्थली अस्पतालमा नै उपचार सुरु भएको छ । उनीसँगै १२ वर्षीया छोरी गुञ्जन तामाङ र ७ वर्षीय छोरा सुजल तामाङ साथमा छन् । उनका पतिलाई घरेलु हिंसाको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ । यसैबिच, मानव अधिककार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले पीडितलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । पीडित महिलाले आफूलाई बारम्बार यातना दिने गरेको र कुटपीट पछि पनि आफ्नो चरित्र हत्याको काम गरिएको बताउनुभयो ।
हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग
रामेछाप । २०८२ चैत २३ गते
HUMAN RIGHTS NEWS PORTAL






