शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धि अन्तरक्रिया सम्पन्न
तनहुँ। २०७६ बैशाख ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालयको आयोजनामा बैशाख ११ गते म्याग्दे गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धि गाउँपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा लागु गरेको नीति र कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष माया रानाले इन्सेकले विगत तिन वर्षदेखी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा निकै राम्रो कार्यक्रम सञ्चालन गरेको बताईन् । उनले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तय गरिएको भन्दै सबैको सुझावमा कार्यक्रमलाई अझ प्रभावकारी बनाईने बताईन् ।
गाउँपालिकाका उपाध्क्ष बालकृष्ण घिमिरेले शिक्षा, स्वास्थ्य र खाद्य नागरिकको मौलिक हक भएको हुँदा त्यसको कार्यान्वयनकोलागि नीति र योजनाहरु बनाईएको बताए । देश संघीय संरचनामा गएपनि स्थानीय तहलाई अधिकार हस्तान्तरण नहुुँदा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सोचे अनुसारको उपलब्धी प्राप्त हुन नसकेको उपाध्यक्ष घिमिरेले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दयाराम तिवारीले चालु आर्थिक वर्षको हालसम्म शिक्षा तर्फ ५४ प्रतिशत, स्वास्थ्य तर्फ ६४ प्रतिशत र कृषित र्फ ४५ प्रतिशत उपलब्धी प्राप्त भएको बताए । सरकारले अहिले दरबन्दी अनुसारको शिक्षक नपठाएको कारण केही विद्यालयमा शिक्षकको अभावमा बन्द भएको उनले बताए । गाउँपालिकाले नीति र योनजाहरु बनाउँदा मानवअधिकार मैत्री बनाईएको तिवारीको भनाई छ ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष श्रीबहादुर थापाले मानवअधिकार निगरानी समुहसँग सहकार्य गरि काम गर्दा राम्रो उपलब्धी भएको बताएका थिए । सो कार्यक्रममा शिक्षा शाखाका प्रमुख बिजयराज बढु, स्वास्थ्य शाखाका प्रमुख दयाराम तिवारी र कृषि शाखाका प्रमुख भविलाल रानाभाटले गाउँपालिकाले सम्बन्धित क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
मानवअधिकार निगरानी समुह म्याग्दे वडा नम्बर ६ र ७ का अध्यक्ष भिमबहादुर विकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धि विभिन्न जिज्ञासाहरु राखेका थिए । सेवाग्राहीले स्वास्थ्य चौकीको भवन भएपनि कर्मचारी नहुँदा सेवा अवरुद्ध भएको, यस बर्ष अनुदानमा वितरण गरिएको
आलु गत वर्षको भन्दा फरक जातको भएको कारण विक्री गर्न समस्या भएको, विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठन पाठन प्रभावित भएको लगायतका समस्याहरु राखेका थिए ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सवनम शर्माले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफ देही बनाई शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा गुणस्तरीय काम गर्नु पर्ने बताईन् । सो कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।
-प्रकाशचन्द्र भट्टराई