लैंगिक हिंसाविरुद्ध अन्तरक्रिया सम्पन्न
ललितपुर । २०७८ मङ्सिर २२ गते
इन्सेक ललितपुरको समन्वयमा ‘‘महिला हिंसा न्यूनिकरणमा पुरुषको भूमिका’’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ‘‘घरैबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ’’ भन्ने नाराका साथ आयोजित कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र इह्रिकनको समन्वय र गैरसरकारी संस्था महासङ्घ ललितपुर जिल्ला शाखाको आयोजनामा मङ्सिर २१ गते सम्पन्न भएको हो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा कार्यक्रमको आयोजना गरिएको गैसस महासङ्घ ललितपुरका सचिव लुनिभा चित्रकारले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अम्बरबाहादुर खड्काले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सबैको साझा पहल हुनु पर्ने बताउनु भयो । सिविनका अध्यक्ष माधव प्रधानले लैङ्गिक हिंसा शुन्य सहनशीलताका लागि र यसको अन्त्यका लागि सबै एक हुनु पर्ने बताउनु भयो । गैर सरकारी संस्था महासङ्घ नेपाल बागमती प्रदेशका सहसचिव नरेशकुमार श्रेष्ठले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो ।
अन्तर धार्मिक सञ्जालका अध्यक्ष हर्ष थापाले हिंसा कसैले गर्नु हुँदैन र हिंसा कसैले पनि सहनु हुँदैन भन्नु भयो । अधिकारकर्मी अनिल अधिकारीले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको सहकार्यको खाँचो औँल्याउनु भयो । आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराईले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने समाजको विकास गर्नु पर्ने खाँचो औँल्याउनु भयो । कायक्रममा गैसस महासङ्घ ललितपुरका कोषाध्यक्ष नन्दा ताम्राकारले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्नुपर्ने बताउनुभयो ।
दीपकप्रसाद घिमिरे