स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ सम्पन्न

कैलाली । २०७८ फागुन ३० गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र नगरस्तरीय मानव अधिकार समुहको समन्वयमा स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २९ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीश पन्तले नगरपालिकाका सबै विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दी रिक्त रहेको ठाउँमा नगर शिक्षकको व्यवस्था गरिएकाले आगामि दिनमा शिक्षामा सुधार आउने बताउनु भयो । गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वरीप्रसाद भुसालले नगरपालिकामा रहेका सबै वडाका नागरिकलाई स्वास्थ्यको  पुहँचमा ल्याउने उद्देश्यले पालिकाको ११ ओटै वडामा आधारभूत स्वास्थ्य इकाईको स्थापना गरी जनशक्ति सहितको निःशुल्क सेवा प्रवाह सुरु गरेको बताउनु भयो ।

 

गौरीगंगा नगरपालिकाका–१ का वडाध्यक्ष जगतराम चौधरीले पालिकामा रहेका किसानहरुलाई व्यवसायीमूखी बनाउने उद्देश्यले पकेट एरिया छनौट गरी च्याउ, तरकारी तथा पशुपालनका लागि अनुदान प्रदान गरी किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको बताउनु भयो । गौरीगंगा नगरपालिकाका–१ का स्थानीय बिरेन्द्र भुलले सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने भनेता पनि बिभिन्न बहानामा विद्यार्थीबाट शुल्क असुली गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘बाल बिकासका विद्यार्थीहरुका लागि आएको दिवा खाजामा मापदण्ड बिपरीत खाजा खुवाउने कार्य भएको छ । यसले विद्यार्थीको स्वास्थ्यमा खेलवाड भइरहेको छ । तर, पालिकाबाट कुनै अनुगमन भएको देखिदैन ।’

मानव अधिकार समुहकी सदस्य सुमन शिलाधरले अनलाइन कक्षाको बहानामा वैकल्पिक शिक्षणको प्रमुख माध्यम मोबाइलको कारण विद्यार्थीहरु किताब भन्दा बढी मोबाइलमा व्यस्त रहने हुनाले शिक्षाको गुणस्तर खस्किने चिन्ता रहेको बताउनु भयो । महिला स्वास्थ्य स्वमसेविका तुल्सा जोशीले कोभिड–१९ का कारण स्वास्थ्य खानेकुरा खान नपाएर विपन्न समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएकाले नगरपालिकाले यस्ता बालबालिकाका लागि बिषेश कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी