सुर्खेत । २०७९ फागुन १९ गते
पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबीर भण्डारीले स्वास्थ्य सेवा सम्बन्धी जारी गरिएको ऐन संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । फागुन १८ गते इन्सेक कर्णाली प्रदेशको आयोजनामा पञ्चपुरी नगरपालिकाद्वारा जारी गरिएको स्थानीय स्वास्थ्य सेवा ऐन २०७७ सरोकारवाला बीच भएको छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले यस्तो बताउनु भएको हो । यस्तै नगर प्रमुख भण्डारीले इन्सेक मानव अधिकार कर्मी संस्था भएकाले नगरपालिकामा जतिपनि ऐन कानुनहरू बन्छन् जनताको मौलिक अधिकार सुनिश्चित हुने किसिमले बनाउने समेत आश्वासन दिनुभएको छ । प्रमुख भण्डारीले इन्सेकले ल्याएका हरेक काममा पालिकाले सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो । नगर उपप्रमुख मुक्ती देवि रेग्मीले सुरुको अवधिमा जनप्रतिनिधि अन्यौलमा थियौ । माथिबाट जे आयो त्यही पास गर्ने काम भयो । बनेका कानुनलाई सुधार गर्न सकिन्छ । संशोधन गर्दा वा नयाँ कानुन बनाउदा मानव अधिकार मैत्री भए नभएको विषयमा ध्यान दिने उपप्रमुख रेग्मीले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले जसरी सरकारी अस्पताललाई अनुगमन गरिन्छ, त्यसैगरी निजी अस्पताल लाई अनुगमन गर्नुपर्ने बताउनु भएको छ । पञ्चपुरी नगरपालिकाका मानव अधिकार समूहका संयोजक अमर कार्कीले साना बालबालिकालाई मदिराजन्य पदार्थ को प्रचार प्रसार गर्न लगाउने गरेको पनि बताउनु भयो । यस्ता क्रियाकलाप पालिका तथा विभिन्न निकायले रोकथाम गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै कतिपय ऐन पानामा मात्र सीमित भएको भन्दै कार्कीले यसलाई कार्यान्वयनको पाटो तिर अगाडि बढाउन अझै जरुरी भएको पनि बताउनु भएको छ ।
कार्यक्रमको उद्देश्य बारेमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बनेको कानुन मानव अधिकार मैत्री छ छैन ? राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनसँग् बाझिएका छन की ? स्थानीय तहका स्वास्थ्य समस्या समाधान गर्न व्यवहारिक छ भनि समीक्षा कार्यक्रम राखिएको बताउनुभयो । पञ्चपुरी नगरपालिकाद्वारा जारी गरिएको स्थानीय स्वास्थ्य सेवा ऐन २०७७ सरोकारवाला बीच समीक्षा कार्यक्रमको अध्ययन तथा प्रतिवेदन प्रस्तुतकर्ता अधिवक्ता पीताम्बर ढकालले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन इन्सेक कर्णाली प्रदेशका फोकल पर्सन दुर्गा थापाले गर्नु भएको थियो । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका ११ ओटा वडाका वडा अध्यक्ष,कार्यपालिकाका सदस्य, स्वास्थ्य शाखा प्रमुख, सूचना अधिकारी, स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य चौकी प्रमुख, विभिन्न संस्थाका प्रतिनिधि मानव अधिकार समूहका पदाधिकारी र बाल अधिकार समूहका प्रतिनिधीहरू, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र सचिव ललित बुढाको सहभागिता रहेको थियो ।
प्रभाकुमारी रावत