गण्डकी प्रदेश । २०८३ बैशाख ८ गते
अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको मानव अधिकारसम्बन्धी सम्बन्धी कार्यक्रमको समाज कल्याण परिषद्को टोलीले ०८३ वैशाख ८ गते गण्डकी प्रदेशमा स्थलगत अनुगमन तथा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
डा. मुक्ति रिजालको संयोजकत्वमा रहेको अनुगमन टोलीमा परिषद्का प्रतिनिधि विमला लुइटेल, चार्टर्ड एकाउन्टेन्ट विशाल बराल, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल तथा इन्सेक गण्डकी प्रदेश प्रलेख अधिकृत मंगिता नेपालीलगायतको सहभागीता रहेको थियो ।
माछापुच्छ्रे गाउँपालिकामा आयोजित कार्यक्रममा मानव अधिकार समूह, जनप्रतिनिधि तथा सरोकारवालाबीच परियोजनाको उपलब्धि, चुनौती र प्रभावकारिताबारे विस्तृत समीक्षा गरिएको थियो । कार्यक्रम पुर्व इन्सेक प्रतिनिधि सुष्मा आचार्यले सञ्चालन गर्नुभएको थियो भने मानव अधिकार समूहका सदस्य प्रेम कुमारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भनाइ राख्दै मानव अधिकार समूह प्रदेश सदस्य प्रेम कुमारी अधिकारीले लैङ्गिक हिंसा तथा वातावरणीय अवस्थाको अवलोकन गर्दै समूहले स्थानीय तहमा समन्वय र सहकार्यमार्फत काम गरिरहेको बताउनु भयो । उहाँले सीमित स्रोतका बाबजुद समुदायमा सचेतना अभिवृद्धि, समस्या पहिचान र समाधानका लागि पहल भइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार समूहका सदस्यहरूले महिला सशक्तिकरण, सरसफाइ तथा बालमैत्री गाउँपालिका निर्माणमा गरिएको प्रयास प्रस्तुत गरेका थिए । समूहका सदस्यहरूका अनुसार सचेतनामूलक अभियान, सडक नाटक, वातावरणसम्बन्धी कार्यशाला तथा भर्चुअल बैठकमार्फत समुदायमा मानव अधिकार शिक्षा विस्तार गरिएको छ । एक्यापसँगको सहकार्यमा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

मानव अधिकार समूह ११ सदस्यीय समावेशी संरचनामा गठन भई स्थानीय मुद्दाहरू उठाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्ने कार्यमा सक्रिय रहेको मानव अधिकार समूहका सदस्य सुष्मा आचार्यले उल्लेख गर्नुभयो ।
गाउँपालिकाका महिला तथा बालबालिका शाखा अधिकृत ज्योती पौडेलले महिला, बालबालिका, दलित तथा ज्येष्ठ नागरिकका क्षेत्रमा निरन्तर काम भइरहेको बताउँदै समावेशी कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । वडा सदस्य अर्जुन अधिकारीले मानव अधिकारका कार्यक्रमका लागि आवश्यकताअनुसार बजेट विेनियोजन तथा प्रभावकारी खर्च व्यवस्थापन गरिएको बताउनुभयो । छलफलका क्रममा स्रोत अभाव मुख्य चुनौतीका रूपमा औंल्याइएको थियो ।

त्यस्तै गरी मानवअधिकार आयोगका प्रमुख तथा सहसचिव नितु गर्तौलाले मानवअधिकारको संरक्षण र प्रवर्धनमा इन्सेक संग निरन्तर हातेमालो गर्दै अगाडी बढेको र आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराउनुभयो ।
कार्यक्रमको निष्कर्षमा समाज कल्याण परिषदले मानव अधिकारको स्थानीयकरण प्रयास प्रभावकारी देखिएको उल्लेख गर्दै गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउन निरन्तर खबरदारी, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै, मानव अधिकार उल्लंघनका घटनाको स्थानीय रुपमा अभिलेखीकरण, तथ्यांक व्यवस्थापन र दलित तथा हिंसापीडितका मुद्दाहरूको व्यवस्थित दस्तावेजीकरण गरी स्थानीयतहमा तथ्यगत प्रस्तावना राखी पालिकासँग समन्वय र सहकार्य गरि अगाडि बढनुपर्ने आवश्यकता औंल्याइएको थियो ।

त्यस्तै गरि भेटघाटको क्रममा गण्डकी प्रदेश स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ऋषि आचार्यले मानव अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको थियो । आचार्यका अनुसार एकातर्फ कार्यालयले सम्बन्धित संस्थाहरूसँग नियमित सम्पर्क र सहकार्य गर्दै आएको छ भने अर्कोतर्फ मानव अधिकारका सवाललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहलहरू अघि बढाइएको छ ।
अनुगमन टोलीले समग्र रुपमा अवलोकनबाट समुदायस्तरमा मानव अधिकार संस्कृतिको विकासमा इन्सेकद्वारा सञ्चालित परियोजनाले सकारात्मक योगदान पुर्याएको बताएकाे छ।
HUMAN RIGHTS NEWS PORTAL






