हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलका २६ वर्षीय मिलन जिम्बालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८३ भदौ ११ गते ५ हजार रुपैयाँ सहयोग गरेको छ । जन्मजात शारीरिक अपाङ्गता भएका जिम्बाको दयनीय अवस्था सार्वजनिक भएपछि इन्सेकले उनको तत्कालीन आवश्यकताका लागि सहयोग गरेको हो उपलब्ध गराएको इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो ।
जन्मजात शारीरिक अपाङ्गता भएका मिलनको कम्मरमुनिको भाग चल्दैन। वर्षौंदेखि पुरानो र जीर्ण तीनपाङ्ग्रे ट्राइसाइकलको भरमा दैनिक जीवन बिताउँदै आएका जिम्बाले नयाँ साधन किन्न नसक्दा पुरानै ट्राइसाइकल आफैं मर्मत गरेर चलाउन बाध्य छन् । शरीर घि सारेर हिँड्नुपर्दा ढाड, नितम्ब, तिघ्रा र खुट्टामा घाउसमेत बनेका छन् ।

जरुवाटोलस्थित सुकुम्बासी बस्तीमा टिनले बारिएको सानो अस्थायी टहरोमा एक्लै बस्दै आएका मिलनको जीवन आर्थिक तथा पारिवारिक अभावले थप कष्टकर बनेको छ । केही वर्षअघि जन्डिसका कारण आमा र दाजुको मृत्यु भएको थियो भने उनका बुबा हाल भीमफेदी कारागारमा छन्। छिमेकी तथा सहयोगीहरूले उपलब्ध गराएको खाद्यान्नकै भरमा उनको दैनिक गुजारा चलिरहेको छ।
पिसाबसम्बन्धी समस्याका कारण नियमित डायपर प्रयोग गर्नुपर्ने अवस्था रहेका मिलनले आर्थिक अभावकै कारण आवश्यक उपचार र स्वास्थ्य सामग्रीसमेत पर्याप्त रूपमा पाउन सकेका छैनन्।
तर, उनीसँग आत्मनिर्भर बन्ने सीप भने छ। वेल्डिङ, कोदाली–कुटो बनाउने तथा जुत्ता सिलाउनेलगायतका काम गर्न सक्ने भए पनि शारीरिक अवस्था र लगानीको अभावका कारण ती सीपलाई नियमित आयआर्जनमा परिणत गर्न सकेका छैनन्।
HUMAN RIGHTS NEWS PORTAL






