धादिङ । २०८३ असोज ३ गते
भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको आएको बाढीबाट घरबार गुमाएर अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका धादिङका ८१ परिवारलाई इन्सेकको समन्वयमा खकुरेल समाज, नेपालले जाडोका लागि फाइबर सिरकसहित विभिन्न सामग्री सहयोग गरेको छ ।
इन्सेकको समन्वयमा खकुरेल समाज, नेपालले गजुरी गाउँपालिका–५ गलौँदीस्थित होल्डिङ सेन्टरमा रहेका ३८ परिवार र गजुरी–६ रातमाटेस्थित होल्डिङ सेन्टरमा रहेका ४३ परिवारलाई फाइबर सिरक वितरण गरेको हो । बाढीका कारण घरबास गुमाएका परिवारलाई चिसो मौसममा राहत पुगोस् भन्ने उद्देश्यले सिरक वितरण गरिएको समाजले जनाएको छ ।

सिरकसँगै होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि कापीकलम तथा प्रभावित परिवारका लागि विभिन्न प्रकारका कपडा पनि वितरण गरिएको थियो । बाढीपछि अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारलाई दैनिक जीवनयापनमा आवश्यक सामग्रीको अभाव भइरहेका बेला गरिएको सहयोगले केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
गल्छी गाउँ पालिका–६ मा रहेको बैरेनी अस्पताललाई १० थान फाइबर सिरक समेत खकुरेल समाजले हस्तान्तरण गरेको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा खकुरेल समाज नेपालका अध्यक्ष विष्णुप्रसाद खकुरेल, सल्लाहकार डा. महेश खकुरेल, उपाध्यक्ष रामराज खकुरेल, सल्लाहकार कुमार खकुरेल तथा इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलको सहभागीता रहेको थियो ।
कार्यक्रममा गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको पनि सहभागिता थियो । जनप्रतिनिधि तथा सहयोगी संस्थाका प्रतिनिधिले बाढीपीडित परिवारसँग उहाँहरूको अवस्था, आवश्यकता र समस्याबारे जानकारीसमेत लिनुभएको थियो ।

भोटेकोशी बाढीका कारण धादिङका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो । घर तथा जायजेथा गुमाएका कतिपय परिवार अझै पनि अस्थायी आश्रयस्थल र होल्डिङ सेन्टरमा बस्दै आएका छन् । लामो समयसम्म अस्थायी संरचनामा बस्नुपर्दा उनीहरूलाई खाद्यान्न, कपडा, शैक्षिक सामग्रीलगायत आधारभूत आवश्यकताको समस्या रहँदै आएको छ ।
जाडो सुरु हुन थालेसँगै होल्डिङ सेन्टरमा रहेका बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य प्रभावित परिवारलाई न्यानो कपडाको आवश्यकता बढेको छ । यस्तो अवस्थामा फाइबर सिरकलगायत सामग्रीको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत पुग्ने स्थानीयको भनाइ छ ।
खकुरेल समाज नेपालले विपद्बाट प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर सहयोगलाई मानवीय दायित्वका रूपमा अघि बढाएको जनाएको छ । इन्सेकको समन्वयमा गरिएको सहयोगले विपद्का कारण विस्थापित परिवारलाई राहतसँगै उनीहरूको कठिन परिस्थितिमा साथ र भरोसा पनि दिएको छ ।


सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL