नुवाकोट । २०८३ भदौ २५ गते
नुवाकोटको विदुर नगरपालिकामा इन्सेकको सहजिकरणमा बाढी प्रभावित परिवारलाई हालसम्म ३५ लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । २०८३ भदौ २४ गते विदुर नगरपालिका–१, ४ र १० का बाढी प्रभावित परिवारलाई पालवर लिङ सेन्टर नेपाल र लायन्स क्लब अफ काठमाडौँ दियालो स्टारको सहयोगमा र इन्सेकको समन्वयमा राहत सामग्री वितरण गरिएको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण घर, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ । बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न विभिन्न प्रकारका सामग्री वितरण गरिएको लायन्स क्लब अफ काठमाडौँ दियालो स्टारका अध्यक्ष पुकार तिमिल्सनाले बताउनु भयो । राहतस्वरूप लत्ताकपडा, खाद्यान्न सामग्री, बालबालिकाका लागि कपडा, प्रेसर कुकरलगायतका दैनिक जीवनमा आवश्यक सामग्री वितरण गरिएको छ। बाढीपछि आर्थिक तथा भौतिक रूपमा प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष तिमिल्सनाले बताउनु भयो ।
इन्सेकको समन्वय तथा सहजीकरणमा सहयोगी संस्थाहरूबाट प्राप्त राहत सामग्री सम्बन्धित वडाका प्रभावित परिवारसम्म पुर्याइएको हो । बाढी तथा विपद्पछि प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ । घर तथा दैनिक आवश्यकताका सामग्री गुमाएका परिवारलाई यस्ता सहयोगले विपद्पछिको कठिन अवस्थामा केही सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।


केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL