रसुवा । ०८३ कार्तिक १० गते

लेन्देखोला हुँदै भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएको दुई महिनासम्म पनि अवस्था पत्ता नलागेपछि कालिका गाउँपालिका–३ कटुन्जेका २२ वर्षीय नमिनाथ खतिवडा किसनको परिवारले ०८३ कार्तिक ९ गते कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ ।

रोजगारीका लागि रसुवागढी नाकामा पुगेका नमिनाथ इभी सवारी चालक हुनुहुन्थ्यो । उहाँ सम्पर्कमा नआएपछि परिवारले उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारको उत्तरगयाधाममा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको हो।

भोटेकोशी बाढीमा बेपत्ता अन्य व्यक्तिका परिवारले पनि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन् । सम्भावित स्थानमा खोजीकार्य गर्दा नभेटिएकाले तत्कालीन परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाइ  अन्त्येष्टि  गरिएको हो ।

हेमनाथ खतिवडा