धादिङ । २०८३ असोज १३ गते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ छहरामा चार दिनदेखि निरन्तर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहे पनि माथिबाट लगातार पहिरो र ठूला ढुङ्गा खसिरहेकाले यातायात पूर्णरूपमा सहज हुन अझै समय लाग्ने भएको छ।

असोज ८ देखि १२ गतेसम्म परेको लगातार वर्षाका कारण सडक माथिको डाँडो चर्किएर पहिरो खस्न थालेको हो। राजमार्गभन्दा तल त्रिशूली नदी तथा भोटेकोसी बाढीले सडकको तल्लो भाग कटान गरी जमिन थिलथिलो बनाएकाले समेत पहिरोको जोखिम बढेको बताइएको छ।

पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास गरिए पनि केही समयमै पुनः सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। ठूला ढुङ्गासहितको पहिरो खसेपछि छहरा क्षेत्रमा सवारीसाधन आवतजावत प्रभावित भएको हो।

सडक निर्माण आयोजनाका चारवटा लोडर तथा एक्साभेटर परिचालन गरी निरन्तर पहिरो हटाउने काम भइरहेको छ। तर पहिरो पन्छाउँदै गर्दा माथिबाट पुनः माटो, ढुङ्गा र पहिरो खस्ने क्रम नरोकिएकाले काम चुनौतीपूर्ण बनेको छ।

पृथ्वी राजमार्गको कृष्णभीर, सितलबजार, बाँगे लगायतका क्षेत्रमा पनि पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गराइएको छ। ती स्थानमा कतिपय ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको छ।

छहरा क्षेत्रमा भने पहिरोको अवस्था गम्भीर रहेकाले तत्कालै दुईतर्फी यातायात सञ्चालन गर्न कठिन देखिएको छ। लगातार पहिरो खसिरहेकाले सडक खुलाउन थप समय लाग्ने सडक आयोजनाका कर्मचारीले बताएका छन्।

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउने कामसँगै जोखिमयुक्त क्षेत्रमा थप पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

सीताराम अधिकारी