धादिङ । २०८३ कात्तिक ९ गते
धादिङको गल्छी गाउँपालिका–६ बैरेनी–महेशदोभान क्षेत्रका बाढीपीडितका लागि यस वर्षको दशैँ खुसीभन्दा बढी पीडा र अभावबीच बित्यो। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले घरबार र वर्षौँको कमाइ गुमाएका परिवारले भत्किएका घरका भग्नावशेषमाथि त्रिपाल र टेन्ट टाँगेर दशैँ मनाउन बाध्य भए।
बाढीले क्षति पुर्याएको दुई महिना पुग्न लाग्दासमेत प्रभावित क्षेत्रका कतिपय घरका भग्नावशेष हट्न सकेका छैनन्। कुनै समय परिवारसँगै बसेर चाडपर्व मनाउने घर अहिले बालुवा, माटो र ढुङ्गाले पुरिएका छन्। घरसँगै लत्ताकपडा, भाँडाकुँडा र वर्षौँको मेहनतले जोडेको सम्पत्ति गुमाएका परिवारका लागि सुरक्षित आवास र दैनिक गुजारा चलाउनु नै मुख्य चुनौती बनेको छ।

राहतस्वरूप पाएको निलो त्रिपाल, एक–दुई बोरा चामल, सिरक, सरसफाइ सामग्री र केही कपडाको भरमा प्रभावित परिवारले दशैँ कटाए। त्रिपालले घामपानीबाट केही राहत दिए पनि चिसोबाट जोगाउन सकेको छैन। दशैँमा नयाँ कपडा लगाउने र घरमा मीठोमसिनो खाने रहरभन्दा उनीहरूलाई रात काट्ने सुरक्षित ठाउँको चिन्ता ठूलो बनेको छ। भत्किएको घरको भग्नावशेष हेर्दै त्रिपालमुनि चाडपर्व मनाउनुपर्दाको पीडा उनीहरूका लागि सहजै व्यक्त गर्न सकिने अवस्था छैन।विपद्मा नपरेकाहरूले बाढीपीडितले धेरै राहत पाएको भन्दै टिप्पणी गर्ने गरेको प्रभावितहरूको गुनासो छ। सामान्य अवस्थामा रहेका परिवारले दशैँमा आफ्नो क्षमताअनुसार खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री किनेर घर लैजान्छन्। तर, सर्वस्व गुमाएका परिवारलाई एक–दुई जोर कपडा, एक बोरा चामल वा केही थान भाँडाकुँडा सहयोग गर्दा पनि धेरै भएको ठानिनु दुःखद भएको प्रभावितहरू बताउँछन्।

“विपद्मा परेकाहरूलाई सहयोग गर्नु कसैमाथि गरिएको उपकार मात्र होइन, मानवीय दायित्व पनि हो। आज अरूको घरमा परेको विपत्ति भोलि आफ्नै घरमा पनि आइपर्न सक्छ। त्यसैले पीडितले पाएको सहयोगको हिसाब खोज्नुभन्दा उनीहरूलाई कसरी सुरक्षित जीवनमा फर्काउन सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ,” एक प्रभावित पुरुषले भन्नुभयो।
बाढीपछि अस्पताल सञ्चालनमा आएको छ भने विद्यालय पनि अन्यत्र स्थानान्तरण गरेर पुनः सञ्चालन गरिएको छ। तर, घरसम्पत्ति गुमाएर विस्थापित भएका परिवारको जीवन अझै सामान्य बन्न सकेको छैन। उनीहरूका लागि पुनःस्थापनाको ठोस कार्यक्रम अघि बढ्न सकेको छैन भने घर पुनर्निर्माणको स्पष्ट आधारसमेत तयार भएको छैन। तत्कालीन राहतले केही समयको आवश्यकता पूरा गरे पनि घरबारविहीन परिवारको दीर्घकालीन समस्या समाधान गर्न सकेको छैन।

बाढीपीडितलाई खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा उपलब्ध गराउनु आवश्यक भए पनि त्यतिले मात्र उनीहरूको जीवन सामान्य अवस्थामा फर्कन सक्दैन। सुरक्षित आवासको व्यवस्था, घर पुनर्निर्माणमा सहयोग र जीविकोपार्जनका अवसर सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता हो। स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मका सम्बन्धित निकायले प्रभावित परिवारको अवस्थालाई गम्भीरतापूर्वक लिएर पुनःस्थापनाका कार्यक्रम अघि बढाउन आवश्यक छ।
चाडपर्वको रौनक सकिए पनि बाढीपीडितको पीडा सकिएको छैन। अरूका घरमा खुसी फर्किंदा उनीहरू भने त्रिपालमुनि बसेर आफ्नो घर कहिले बन्ला भन्ने प्रतीक्षामा छन्। सर्वस्व गुमाएका परिवारलाई सुरक्षित आवास र सम्मानजनक जीवनमा फर्काउन सरकारले कहिले ठोस कदम चाल्छ भन्ने प्रश्नको जवाफ अझै उनीहरूले पाउन सकेका छैनन्।
HUMAN RIGHTS NEWS PORTAL