नुवाकोट । २०८३ भदौ २७ गते
रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड रुपियाँ बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखामा ६५ करोड क्षति भएको छ ।
प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड ५६ लाख रुपियाँको क्षति भएको छ । ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा ११ लाख रुपियाँको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपियाँको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड १२ लाख रुपियाँको क्षति भएको छ । माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपियाँ तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपियाँको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख रुपियाँ र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाख रुपियाँको क्षति भएको छ ।
त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा ४ लाख रुपियाँको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा ५३ लाख रुपियाँको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपियाँको क्षति भएको छ ।
प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाख रुपियाँको क्षति भएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा ४ करोड २३ लाख रुपियाँ, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख रुपियाँ, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपियाँको क्षति भएको छ । उक्त रकमबाहेक पनि छुट्टै १९ करोड ५९ लाख रुपियाँ क्षति भएको देखिएको छ ।
प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा ६ करोड ४० लाख रुपियाँ, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख रुपियाँ, कालिका गाउँपालिकामा ७९ लाख रुपियाँ र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपियाँको क्षति भएको छ ।
रासस
HUMAN RIGHTS NEWS PORTAL