रसुवा । २०८३ असोज ११ गते
भोटेकोशीमा आएको बाढीका कारण सडक तथा पुल अवरुद्ध भएपछि रसुवामा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ। सडक सञ्जाल विच्छेद हुँदा नियमित आपूर्ति ठप्प भएपछि सर्वसाधारणसँगै होटल तथा पर्यटन व्यवसायी समस्यामा परेका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेले ग्यास र खाद्यान्नको अभाव बढ्दै गएको बताउनुभयो। “बाहिरबाट आएका ग्राहकलाई बास बसाउन सकिएला, तर खाना खुवाउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो।

रसुवामा सयभन्दा बढी होटल तथा खाजाघर सञ्चालनमा छन्। बाढीपछि आफन्तको खोजीमा आएका परिवार, उद्धारकर्ता तथा राहत सामग्री लिएर आएका व्यक्तिको आवतजावत बढे पनि खाद्यान्न र ग्यासको अभावका कारण होटल सञ्चालनमा कठिनाइ भएको व्यवसायीको भनाइ छ।
होटल व्यवसायी निशान गजुरेलले आपूर्ति तत्काल सहज नभए केही दिनमै होटल बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो।

बाढीले पुल बगाएपछि जिल्लाका धेरै गाउँ अझै सडक सञ्जालबाट विच्छेद छन्। उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यका अनुसार फलाँखु खोलामा बेलिब्रिज राख्ने तयारी भए पनि लगातारको वर्षाका कारण काम अघि बढाउन समस्या भएको छ।
स्थानीय बासिन्दा तथा व्यवसायीले सडक र पुल तत्काल सञ्चालनमा ल्याई खाद्यान्न, ग्यास तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL