नुवाकोट । २०८३ असोज १४ गते

२०८३ भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुलहरू बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा स्थानीयको आवतजावत जोखिमपूर्ण बनेको छ । पुलको विकल्पका रूपमा कतिपय स्थानमा तुइन र जिपलाइन सञ्चालनमा आए पनि अत्यधिक चापका कारण सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले जिल्लाका १७ वटा पक्की पुल र १८ वटा झोलुङ्गे पुल बगाएको छ । पुल बगेपछि नदी वारपार गर्ने मुख्य माध्यम अवरुद्ध हुँदा विद्यार्थी, कर्मचारी र दैनिक कामका लागि आवतजावत गर्ने स्थानीय प्रभावित भएका छन् ।

पुलको विकल्पमा सञ्चालन गरिएका तुइन तथा जिपलाइनबाट दैनिक ५ सयभन्दा बढी मानिस नदी वारपार गर्ने गरेका छन् । बिहान र बेलुकाको समयमा विद्यार्थी तथा कर्मचारीको चाप बढी हुने गरेको छ ।

विदुर नगरपालिका–९ का सुमन बोगटीका अनुसार पुल नहुँदा जोखिम मोलेर तुइन तथा जिपलाइन प्रयोग गर्नुपर्ने बाध्यता छ । वैकल्पिक माध्यमबाट नदी वारपार गर्दा समय बढी लाग्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका तथा विद्यार्थीलाई थप समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बाढीका कारण जिल्लाका महत्वपूर्ण सडक तथा पुल संरचनामा क्षति पुगेपछि नियमित आवतजावत प्रभावित भएको छ । स्थानीयवासीले अस्थायी संरचनाबाट मात्रै समस्या समाधान नहुने भन्दै निर्माणाधीन ‘एको ब्रिज’ तथा झोलुङ्गे पुलको निर्माण कार्यलाई तीव्रता दिन माग गरेका छन् ।

केदार ढकाल