नुवाकोट । २०८३ भदौ २३ गते

भोटेकोशी नदीमा ०८३ भाद्र १० गते  आएको विनाशकारी बाढीले बिदुर खानेपानी संस्थाको फलाखु खोला मुहानसँगै मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्‍याएपछि बिदुर नगर क्षेत्रमा खानेपानीको संकट चुलिएको छ । बाढीका कारण मुख्य पानीको स्रोत नै अवरुद्ध भएपछि हाल बिदुरका उपभोक्ताले १२ दिनमा एक दिन मात्र खानेपानी पाउने अवस्था आएको छ ।

बाढीले फलाखु खोला मुहानमा क्षति पुर्‍याउनुका साथै मुहानदेखि बिदुरसम्मको करिब चार किलोमिटर मुख्य पाइपलाइनमा क्षति पुर्‍याएको बिदुर खानेपानी संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिनुभयो ।

बिदुर खानेपानी संस्थाले बिदुर नगरपालिका वडा नं १, २, ४, ५, ६ र ९ मा करिब ५ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । बाढीअघि फलाखु खोला मुहानबाट प्रतिसेकेन्ड करिब ८० लिटर पानी आपूर्ति हुँदै आएको थियो । वैकल्पिक स्रोतका रूपमा तादी खोला सम्पवेलबाट लिफ्ट गरी प्रतिसेकेन्ड करिब ४० लिटर पानी २० लाख लिटर क्षमताको ट्यांकीमा जम्मा गरी वितरण गर्ने गरिएको थियो ।

तर, बाढीका कारण फलाखु खोलाको मुहान तथा मुख्य पाइपलाइनमा क्षति पुगेपछि उक्त स्रोतको पानी पूर्ण रूपमा अवरुद्ध भएको छ । यता तादी खोलाबाट पानी लिफ्ट गर्ने प्रणालीमा समेत विद्युत् आपूर्ति प्रभावित भएपछि जेनेरेटरको सहायताले पानी तान्नुपरेको छ । जेनेरेटरबाट प्रतिसेकेन्ड करिब २० लिटर मात्र पानी ट्यांकीमा उक्लिने गरेको संस्थाले जनाएको छ ।

सोहि कारण २० लाख लिटर क्षमताको ट्यांकी भरिन चारदेखि पाँच दिन लाग्ने गरेको छ । सञ्चित पानीलाई तीनवटा क्षेत्रमा विभाजन गरेर वितरण गर्दा एउटा क्षेत्रमा पानी पुग्न पुनः करिब १२ दिन कुर्नुपर्ने अवस्था आएको सचिव रिमालले बताउनुभयो ।

खानेपानीको चरम अभाव भएपछि संस्थाले स्थानीय स्रोतबाट उपलब्ध पानी प्रशोधन गरी ट्यांकरमार्फत उपभोक्तालाई वितरण गरिरहेको छ । प्रशोधित पानी खानेपानीका रूपमा वितरण गरिँदै आएको छ भने भाँडा तथा कपडा धुने प्रयोजनका लागि खोला तथा खोल्साको पानीसमेत ट्यांकरमार्फत उपलब्ध गराउने गरिएको रिमालले बताउनुभयो ।

बाढीले मुहानदेखि मुख्य पाइपलाइनसम्मै क्षति पुर्‍याएकाले खानेपानीको नियमित आपूर्ति तत्काल सहज हुने अवस्था छैन । निर्माण तथा मर्मतको काम निरन्तर अघि बढे पनि मुहान र पाइपलाइन पुनः निर्माण गरी पानीको आपूर्ति सहज बनाउन अझै चार महिनाभन्दा बढी समय लाग्न सक्ने सचिव रिमालले बताउनुभयो ।

खानेपानीको मुख्य स्रोत र संरचनामै क्षति पुगेपछि बिदुरका हजारौँ उपभोक्ता प्रभावित भएका छन् । दैनिक आवश्यकताका लागि उपभोक्ता ट्यांकर तथा वैकल्पिक पानीका स्रोतमा निर्भर हुन बाध्य भएका छन् ।

केदार ढकाल