नुवाकोट । २०८३ भदौ २७ गते

भोटेकोशी नदीमा ०८३ भाद्र १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले भाद्र ०८३ भदौ १० गतेदेखि भदौ २७ गते बेलुका ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट १ सय ९९ जनाको शव फेला परेको र २ हजार ६ सय ९१ जना अझै बेपत्ता रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार ५ सय  ४९ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा १ हजार ९ सय ४० नेपाली पुरुष, १ हजार ३ हजार ५१ नेपाली महिला, २ सय ३२ विदेशी पुरुष र २६ विदेशी महिला रहेका छन्।

बाढीमा परी १ सय ९९ जनाको शव निकालिएको छ। फेला परेका शवमध्ये ५० जना पुरुष र ४६ जना महिला रहेका छन् भने १ सय ३ जनाको लिङ्ग पहिचान हुन बाँकी रहेको प्रशासनले जनाएको छ। बाढीका कारण ६६ जना घाइते भएका छन्।

यस्तै, बाढीमा परी अझै २ हजार ६ सय ९१ जना बेपत्ता छन्। बेपत्ता हुनेमा १ हजार ८ सय ९५ नेपाली पुरुष, ४ सय ६७ नेपाली महिला, १ सय २० विदेशी पुरुष, १ सय ५४ विदेशी महिला र पहिचान नखुलेका ५५ जना रहेका छन्।

बाढीले तटीय क्षेत्रका सडक, पुल तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रशासनका अनुसार २१ ओटा पक्की पुल र १८ ओटा झोलुङ्गे पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने १ ओटा पक्की पुलमा आंशिक क्षति पुगेको छ।

त्यसैगरी ५.५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप ८ किलोमिटर सडकमा आंशिक क्षति पुगेको छ।

बाढीका कारण १४ ओटा सरकारी कार्यालय र १४ ओटा सहकारी संस्थाका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप २ ओटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ।

यस्तै, ५ ओटा विद्यालय भवन पूर्ण रूपमा र ३ ओटा विद्यालय भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले ४ ओटा जलविद्युत आयोजना तथा ६४ ओटा सरकारी सवारी साधन समेत पूर्ण रूपमा नष्ट गरेको विवरणमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीबाट भएको क्षतिको विवरण प्राप्त हुने क्रम अझै जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको तथ्याङ्कमा आगामी दिनमा थपघट हुन सक्ने छ ।

केदार ढकाल