जुम्ला । २०८३ असोज १२ गते

रसुवाको भोटेकोशी बाढीमा परी जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोजगारीका सिलसिलामा रसुवा पुगेका पातारासी गाउँपालिकाका ४९ जना, गुठीचौर गाउँपालिकाका नौ जना, चन्दननाथ नगरपालिकाका चार जना र सिंजा गाउँपालिकाका एक जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

पातारासी–४ लाम्री गाउँका अम्मर भण्डारी र अनिल भण्डारीसहित १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका थिए । उनीहरूको परिवारले असोज ७ गते कुशको शव बनाएर सद्गत गरेका छन् ।

पातारासी–४ तिर्खु गाउँका नौ जना पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । उनीहरूको परिवारले असोज ६ गते कुशको शव बनाएर सद्गत गरेको जनाएको छ ।

पातारासी–५ माथिलोर्पा गाउँका १० जना सम्पर्कविहीन छन् । उनीहरूको परिवारले असोज ३ गते कुशको शव बनाएर दाहसंस्कार गरेको छ । सोही वडाको तलिलोर्पा गाउँका चार जना पनि भदौ १० गतेको बाढीमा बेपत्ता भएका थिए । उनीहरूको पनि परिवारले दाहसंस्कार गरिसकेको जनाएको छ ।

पातारासी–५ जम्न गाउँका २२ वर्षीय कुमसिंह बुढा र २२ वर्षीय जीवन बुढा पनि भदौ २० गतेको भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । पातारासी–६ वाता गाउँका आठ जना र पातारासी–२ तल्फी गाउँका २४ वर्षीय दिपराज बोहोरा पनि सम्पर्कविहीन छन् ।

त्यस्तै, गुठीचौर गाउँपालिका–१ चोत्राका दुई जना, वडा नम्बर २ मुडुरीका तीन जना र गोठी गाउँका तीन जना बाढीपछि सम्पर्कविहीन भएका छन् । गुठीचौर–५ फोईका ३२ वर्षीय पूर्णप्रसाद आचार्य र सिंजा गाउँपालिका–३ का नरेन्द्रबहादुर शाही पनि भोटेकोशी बाढीमा बेपत्ता भएका छन् । शाही नेपाली सेनाको चक्रेश्वर हेल्थ डेस्कमा कार्यरत रहेको परिवारजनले बताएका छन् ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका अधिकांश युवा रोजगारीका लागि रसुवा पुगेका थिए । परिवारको आर्थिक अवस्था सुधार्ने र चाडपर्वमा घर फर्किने आशाले रोजगारीका लागि गएका उनीहरू बाढीपछि घर नफर्किँदा जुम्लाका दर्जनौँ परिवार शोक र अन्योलमा छन् ।

बाढीमा बेपत्ता भएका आफन्तको अवस्था यकिन हुन नसक्दा परिवारजन लामो समयसम्म खोजी र पर्खाइमा बस्न बाध्य छन् । केही परिवारले लामो समयसम्म कुनै खबर नआएपछि धार्मिक संस्कारअनुसार कुशको शव बनाएर अन्तिम सद्गत गरेका छन् ।

मानदत्त रावल