धादिङ । २०८३ असोज ५ गते
हिमपहिराेपछि हिमताल विस्फाेटनपछि भाेटेकाेसी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त धादिङका विभिन्न स्थानका झोलुङ्गे पुलको मर्मत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम धमाधम सुरु भएको छ। सस्पेन्सन ब्रिज डिभिजनले क्षतिग्रस्त पुलहरूलाई प्राथमिकतामा राखेर निर्माण अघि बढाएको हो।

बाढीबाट क्षति पुगेका महेशदोभान मास्टर झोलुङ्गे पुल, चरौंदी खोला झोलुङ्गे पुल, शीतलबजार–क्युरेनिटार झोलुङ्गे पुल, कालिकास्थान झोलुङ्गे पुल, मालिका–मधुवाटार दोभान झोलुङ्गे पुल, केउरेनी–गहते झोलुङ्गे पुल र फोसेटार झोलुङ्गे पुल पुनर्निर्माण तथा मर्मतकाे काम सुरु भएकाे छ।

गल्छी गाउँपालिका–१ र ६ मा पर्ने महेशदोभान मास्टर झोलुङ्गे पुलको निर्माणका लागि भदौ १७ गते सम्झौता भएको छ। सम्झौताअनुसार असोज १७ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै चिरौंदी खोला झोलुङ्गे पुल (गल्छी–२–४) र शीतलबजार–क्युरेनिटार झोलुङ्गे पुल (गल्छी क्षेत्र) का लागि भदौ २६ गते सम्झौता भएको छ। यी दुवै पुलको काम असोज २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।

कालिकास्थान झोलुङ्गे पुल (सिद्धलेक–६, गजुरी–१) र मालिका–मधुवाटार दोभान झोलुङ्गे पुल (सिद्धलेक–३, बेनिघाट रोराङ–३) का लागि पनि भदौ १७ गते सम्झौता भएको छ। दुवै पुल असोज १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैगरी केउरेनी–गहते झोलुङ्गे पुल (बेलकोटगढी–४, नुवाकोट र गल्छी–१, धादिङ) तथा फोसेटार झोलुङ्गे पुल (बेलकोटगढी–२ र गल्छी–१ क्षेत्र) को पुनर्निर्माणका लागि भदौ २६ गते सम्झौता भएको छ। यी पुलको काम पनि असोज २६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ।

बाढीले पुलहरूमा क्षति पुर्याएपछि स्थानीय बासिन्दाको आवतजावत, विद्यालय, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या हुँदै आएको थियो। पुल पुनर्निर्माण सुरु भएपछि प्रभावित क्षेत्रका नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
निर्माण भइरहेका पुलको रेखदेख, संरक्षण र निगरानीमा स्थानीय बासिन्दाले सहयोग गर्न सस्पेन्सन ब्रिज डिभिजनले आग्रह गरेको छ। फिल्डमा खटिएका प्राविधिक, निर्माण कम्पनीका कर्मचारी तथा श्रमिकलाई आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरिएको छ।
बाढीले धादिङ जिल्लाका २५ ओटा झाेलुंगेपुल बगाएर क्षतिग्रस्त भएकाे थियाे । पुल अभावमा किसानका उत्पादन बजार लान नपाएर कुहिन थालेकाे छ भने मानिसहरुकाे आवतजावत ठप्प भएकाे छ ।
विद्यार्थी विद्यालय आउन नपाएर कक्षा नै छुटेकाे केउरिनिका विद्यार्थी हरुले बताएका छन् ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL