नुवाकोट । २०८३ भदौ २३ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको भिषण बाढीका कारण प्रभावित क्षेत्रमा व्यापक उद्धार तथा राहत कार्य जारी छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले भदौ २२ गते जारी गरेको बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार हालसम्म ३ जार ४ सय १४ जनाको सकुशल उद्धार गरिएको छ ।

सकुशल उद्धार गरिएकाहरूमा ३ हजार १ सय ५७ नेपाली नागरिक (१ हजार ८ सय ६६ पुरुष र १ हजार २ सय ९० महिला) तथा २ सय ५८ विदेशी नागरिक (२ सय ३२ पुरुष र २६ महिला) रहेका छन् । उद्धार कार्यका क्रममा भदौ २० गते विदुर नगरपालिका –१० बेत्रावतीबाट १ जना र UT–२१६ बाट १ जना चिनियाँ नागरिक गरी २ जनाको सकुशल उद्धार गरिएको प्रशासनले जनाएको छ ।

बाढीका कारण हालसम्म नुवाकोटमा १ सय ९६ वटा शव (आंशिक अङ्गसहित) फेला परेका छन् । जसमध्ये ७५ वटा शवको लिङ्ग पहिचान भएको छ भने १ सय २१ वटा शवको लिङ्ग पहिचान हुन सकेको छैन । बाढीका कारण ६६ जना घाइते भएका छन् ।

यस्तै, बाढीमा परी अझै २ हजार ६ सय ७३ जना सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा १ हजार ८ सय ८२ नेपाली पुरुष, ४ सय ६५ नेपाली महिला, १ सय १७ विदेशी पुरुष, १ सय ५४ विदेशी महिला र ५५ जना लिङ्ग तथा परिचय नखुलेका व्यक्तिहरू रहेका छन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजकार्य तीव्र रूपमा जारी राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केदार ढकाल