रसुवा । २०८३ असोज ५ गते
भोटेकोशी बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ ।
आयोजनाका अनुसार ०८३ असोज ४ गते नेपाली सेना र कम्पनीको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा थप १३ शव फेला पारी बाहिर निकालेको हो।
थप १३ शव बाहिर निकालिएसँगै अडिट–३ क्षेत्रबाट हालसम्म निकालिएका शवको संख्या ३७ पुगेको कम्पनीले जनाएको छ।
अडिट–३ क्षेत्रबाट निकालिएका शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। जिल्ला प्रहरी कार्यालयले मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत प्रक्रियामा सहयोग गर्न आग्रह गरेको कम्पनीले जनाएको छ।
सनाखतका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
राजु आचार्य
HUMAN RIGHTS NEWS PORTAL