रसुवा । २०८३ असोज २३ गते
भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीमा परी रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तले सातबुँदे माग राख्दै कम्पनी सञ्चालक समितिलाई १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएका छन् ।
बेपत्ता कर्मचारीका आश्रित परिवार तथा आफन्तले काठमाडौंमा रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिसमक्ष मागपत्र बुझाउँदै सामाजिक सुरक्षा, रोजगारी, क्षतिपूर्ति र बालबालिकाको शिक्षाको व्यवस्था गर्न माग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको १ सय ११ मेगावाट क्षमताको आयोजनामा बाढीले व्यापक भौतिक तथा मानवीय क्षति पुर्याएको छ । पीडित परिवारले गत वर्षको बाढीबाट पाठ सिकेर पूर्वसूचना प्रणाली जडान नगरिनु व्यवस्थापनको लापरबाही भएको आरोप लगाएका छन् ।

मागपत्रमा बेपत्ता कर्मचारीका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सम्पूर्ण सुविधा उपलब्ध गराउन, तलब तथा अन्य सेवा–सुविधाको निरन्तरता दिन र जीवनयापन सहज बनाउन मासिक निर्वाह भत्ताको व्यवस्था गर्न माग गरिएको छ । साथै, बेपत्ता वा मृत्यु भएका कर्मचारीका परिवारका सदस्यलाई योग्यताअनुसार रोजगारी दिन र रोजगारी गर्न असमर्थ सदस्यलाई एकमुष्ट क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
पीडित परिवारले यसअघि उपलब्ध गराइँदै आएको ५ लाख रुपियाँको दुर्घटना बीमा रकम वृद्धि गर्न तथा बाढीबाट प्रभावित कर्मचारीका परिवारलाई अन्य प्रभावित आयोजनासरह उचित क्षतिपूर्ति दिन पनि माग गरेका छन् । बालबालिकाको शिक्षाका लागि कम्पनीबाट आर्थिक सहयोग, परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार र अभिभावकविहीन बालबालिकालाई प्राथमिकताका साथ सहयोग गर्नुपर्ने मागसमेत राखिएको छ ।

त्यसैगरी, कार्यस्थल आसपास स्मृति पार्क निर्माण गरी प्रत्येक वर्ष श्रद्धाञ्जली सभा आयोजना गर्न र प्रभावित परिवारको मानसिक पुनःस्थापनाका लागि मनोसामाजिक परामर्शसहितको सहायता कोष स्थापना गर्न माग गरिएको छ ।
मागपत्र बुझाएको मितिले १५ दिनभित्र माग सम्बोधन तथा कार्यान्वयन गर्न आग्रह गर्दै पीडित परिवारले तोकिएको समयभित्र माग बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी कम्पनीले लिनुपर्ने चेतावनी दिएका छन् ।
बेपत्ता कर्मचारीका परिवारका तर्फबाट उत्तरगया गाउँपालिका–४ का माधव लामिछानेले मागपत्र वाचन गरी सञ्चालक समितिलाई बुझाउनुभएको थियो ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL