धादिङ । २०८३ असोज ११ गते
हिमपहिरोपछि भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढी र पछिल्लो चार दिनदेखिको लगातारको वर्षाले धादिङको बेनिघाटरोराङ गाउँपालिका–९ हुग्दीमा चार घर विस्थापित भएका छन्।
त्रिशूली नदीको बहाव बढेर बस्ती नजिकै कटान गर्न थालेपछि घरहरू जोखिममा परेका हुन्। बाढीको कटान र जमिन भासिएपछि डोरकुमार कार्की, सन्तोष राना मगर, अर्जुन मगर र लक्ष्मी पौडेलका परिवार घर छाडेर विस्थापित भएका छन्।
बेनिघाटरोराङका शिक्षक तिलक चेपाङका अनुसार त्रिशूली नदीको बहाव बस्तीको दिशातर्फ बढ्दै गएपछि हुग्दीका स्थानीय त्रासमा बस्न बाध्य भएका छन्।
नदीले निरन्तर कटान गरिरहेकाले थप घरसमेत जोखिममा परेका छन्। पछिल्लो चार दिनदेखि लगातार भइरहेको वर्षाले जोखिम झनै बढाएको स्थानीयवासीले बताएका छन्।
बाढी र कटानको जोखिम बढेपछि हुग्दी बजार क्षेत्रका स्थानीयवासीसमेत घर तथा पसल छाड्न बाध्य भएका छन्। नदीको बहाव थप बढेमा थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक व्यवस्थापनको माग गरेका छन्।

सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL