रसुवा । २०८३ कात्तिक १८ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण विस्थापित भई हाल नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा बस्दै उत्तरगया गाउँपालिका–१ का बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने कार्य सुरू गरिएको छ ।

विपद्का कारण घरबास गुमाई कागजातसमेत बाढीले बगाएपछि दैनिक जीवनयापन र सरकारी सेवा लिन कठिनाइ भोगिरहेका पीडितहरूलाई राहत तथा पुनःस्थापना सहज बनाउने उद्देश्यले होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको हो । उत्तरगया गाउँपालिका–१ का २ सय २ जना नागरिकलाई ०८३ कार्तिक १६ गते होल्डिङ सेन्टरबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ।

उक्त प्राकृतिक विपत्तिमा परी आफ्नो सम्पूर्ण चलअचल सम्पत्तिका साथै नागरिकता र अन्य पहिचानका कागजात गुमाएका उत्तरगया गाउँपालिका–१ का नागरिकहरूलाई उत्तरगया गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय, रसुवाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो । होल्डिङ सेन्टरमा आश्रय लिदै आएका जेष्ठ नागरिकहरू हातमा नागरिकता पाएपछि राहत महसुस गर्दै खुसी भएको स्थानीय बुटी तामाङले बताउनुभयो ।

हेमनाथ खतिवडा