रसुवा । २०८३ मंसिर २ गते


भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पुल बगाएपछि लामो समयदेखि यातायात सेवा अवरुद्ध रहेको रसुवाको आमाछोदिङमो गाउँपालिकामा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ। गाउँपालिका–३ को गतलाङदेखि स्याफ्रुबेसीस्थित फड्के पुलसम्म नियमित बस सेवा सुरु भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ।

लामो प्रयासपछि गतलाङ, चिलिमे र गोल्जुङ हुँदै स्याफ्रुबेसीसम्म सार्वजनिक बस सञ्चालनमा आएको हो। स्याफ्रुबेसीबाट फड्के पुल तरेर अर्को बस चढी काठमाडौंसम्म पुग्न सकिने भएको छ।

बस सेवा सञ्चालनका लागि तिहारअघि वडा नं. ३, ४ र ५ का अध्यक्षहरूको सहजीकरणमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयसमक्ष सहयोगको अपिल गरिएको वडा नं. ३ का अध्यक्ष सुरेन्द्र तामाङले बताउनुभयो।

स्याफ्रुबेसीमा फड्के पुल र गाउँपालिका–२ को ग्रे गाउँदेखि ठूलोभार्खुको तलसम्म ८ सय १३ मिटर लामो ग्राभिटी रोपवे निर्माण भएपछि स्थानीयलाई कृषि उपज ओसारपसार गर्नसमेत सहज भएको छ।

बस सेवा सञ्चालनसँगै गतलाङ क्षेत्रमा उत्पादित सिस्नु, बन्दा, आलुलगायतका कृषि उपज काठमाडौंसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। बाढीका कारण ८० दिनसम्म ठप्प रहेका आमाछोदिङमो क्षेत्रका स्थानीय बजारसमेत चलायमान हुने अपेक्षा गरिएको छ।

बस सेवा सुरु भएपछि स्थानीय निमानुर्पु तामाङलगायतले दैनिक आवतजावतमा ठूलो राहत मिलेको बताउनुभएको छ।

हेमनाथ खतिवडा