रसुवा । २०८३ कात्तिक २३ गते

आमाछोदिङ्मो गाउँपालिकामा उत्पादित बन्दा ढुवानी गर्न विश्व खाद्य कार्यक्रम र आमाछोदिङ्मो गाउँपालिकाबीच सहमति भएको छ ।

दुई पक्ष बिच गाउँपालिकाबाट स्याफ्रुबेँसीस्थित भोटेकोशी खोलावारि यातायात पुगेको ठाउँसम्म बन्दा ढुवानी गर्न सहयोग गर्ने सहमति भएको हो ।  पहिलो चरणमा ३ सय ३७.५ मेट्रिक टन बन्दा ढुवानी गर्न सहयोग गर्ने सहमति भएको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र उत्पादित बन्दा यातायातको पहुँच भएको ठाउँसम्म पुर्‍याउन विश्व खाद्य कार्यक्रमले सहयोग गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

गत भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। बाढीका कारण आवतजावत बन्द हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १ देखि ५) का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएको स्थानीय फुर्पुसिङ्गी तामाङले बताउनुभयो । यसले किसानलाई अर्थतन्त्रमा धेरै समस्या परेको छ ।

झण्डै ८ करोड रुपियाँ बराबरको कृषि तरकारी तथा उपज बजारमा लैजाने अवस्थामा बाढीले समस्या परेको वडा नं ३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले बताउनुभयो ।

सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेका नगदेबाली बजारसम्म पुर्‍याउन पाएका छैनन् । बाढी पछिको लामो समय बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदेबाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको थियो ।

किसानको मेहनत खेर जान नदिन ढुवानीमा सहयोग गरिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ। उत्पादित कृषि उपज बजारमा लैजान सके ठूलो राहत हुने कृषक मार लामाले बताउनुभयो ।

सम्झौता भएपछि केही कृषि उपजले बजार पाउने भन्दै किसान उत्साहित भएका छन् ।

हेमनाथ खतिवडा