नुवाकोट । २०८३ भदौ २२ गते
इन्सेकद्वारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको व्यवस्थापनका लागि नुवाकोटमा स्थापना गरिएका दुई होल्डिङ सेन्टरको ०८३ भदौ २० गते अनुगमन गरिएको छ । अनुगमन टोलीद्वारा बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरको अनुगमनका क्रममा होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको अवस्था, उपलब्ध सेवा–सुविधा तथा राहत व्यवस्थापनबारे जानकारी लिइएको थियो ।
अनुगमनका क्रममा विपद्का कारण प्रभावित नागरिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा राख्न आवश्यक समन्वय र व्यवस्थापनमा समेत जोड दिइएको इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो । अनुगमन टोलीले नुवाकोटको बिदुर नगरपालिका–१०, गेर्खुटारमा रहेको श्री सुन्दरी केउरीनी माध्यामिक विद्यालयमा रहेको होल्डिङ सेन्टर र बिदुर नगरपालिका–५ मा चन्द्रज्योती माविमा रहेको होल्डीङ सेन्टरको अनुगमन गरेको थियो । श्री सुन्दरी केउरीनी माध्यामिक विद्यालयमा रहेको होल्डिङ सेन्टरमा कुल ३ सय ३७ जना रहेका मध्ये एक सुत्केरी र एक गर्भवती महिला रहेका छन् । त्यस्तै चन्द्रज्योती माविमा रहेको होल्डीङ सेन्टरमा २ सय १८ मध्ये ४१ जना १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् ।
टोलीले प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने राहत, खाद्यान्न, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवाको उपलब्धताका विषयमा समेत जानकारी लिएको थियो । सोही क्रममा अनुगमन टोलीलाई प्रभावितहरुले बालबालिकाहरुलाई विद्यालय र शिक्षाको पहुँच हुनुपर्ने, होल्डीङ सेन्टरका विस्थापित व्यक्तिहरुलाई सुरक्षित स्थानमा दिर्घकालिन व्यवस्थापन गरिनुपर्ने माग गरेका थिए । अनुगमन टोलीमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम , इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल र अधिवक्ता नवदिप श्रेष्ठ र इन्सेक नुवाकोट फोकल पर्सन केदार ढकाल रहनु भएको थियो ।






केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL