नुवाकोट । २०८३ कात्तिक २३ गते

विदुर नगरपालिका–५ स्थित देवीघाटमा जलवायु न्यायको माग गर्दै चित्रकला प्रदर्शनी गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र बाढीपछिको पीडालाई कलाकारहरूले क्यानभासमा चित्रमार्फत उतार्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

गैरसरकारी संस्था महासंघ नुवाकोटको आयोजनामा जालपा नदी किनार देवीघाटमा आयोजित कार्यक्रममा कलाकारहरूले बाढीले निम्त्याएको विनाश, प्रभावित समुदायको पीडा र पुनर्निर्माणका चुनौतीलाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए । कला प्रदर्शनमार्फत जलवायु परिवर्तनका असर भोगिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले कार्यक्रको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासंघ रसुवाका अध्यक्ष  तथा इन्सेक प्रतिनिधि हेमनाथ खतिवडा, गैसस महसंघ नुवाकोटका अध्यक्ष लोचन भट्टराईलगायतले जलवायु न्यायको पक्षमा आवाज उठाउनु भएको थियो ।

वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुक र ती मुलुकका समुदायले प्राकृतिक विपद्का गम्भीर असर भोग्नुपरेको बताउनु भएको थियो ।

अव्यवस्थित पुनर्निर्माण तथा औद्योगिक क्रान्तिबाट सिर्जित वातावरणीय प्रभावले जलवायुजन्य जोखिम थप जटिल बनाएको उहाँहरूको भनाइ थियो।

जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका लागि ऋणको सट्टा अनुदान उपलब्ध गराउनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो। जलवायु संकटमा जिम्मेवार पक्षले क्षतिको उचित सम्बोधन गर्दै प्रभावित समुदायलाई न्याय दिनुपर्ने उहाँहरूको माग थियो।

कार्यक्रममा ‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारासहित जलवायु न्यायको आवाज उठाइएको थियो।

कोप–३१ को अन्तर्राष्ट्रिय बहससँग स्थानीय समुदायको पीडा जोड्दै आयोजित कला प्रदर्शनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको अवस्था, जलवायुजन्य जोखिम र न्यायपूर्ण पुनर्निर्माणको आवश्यकतालाई विश्व समुदायसमक्ष पुर्‍याउने सन्देश दिएको छ।

केदार ढकाल