धादिङ । २०८३ भदौ २२ गते
भोटेकोशी बाढीका कारण घरबार र दैनिक जीवन प्रभावित भएका गल्छी गाउँपालिकाका अपाङ्गता भएका परिवारलाई लक्षित गरी ०८३ भदौ २१ गते राहत सामग्री उपलब्ध गराइएको छ । झापाली मिलन केन्द्र, भक्तपुरको आर्थिक र जिन्सी सहयोग साथै इन्सेकको समन्वयमा गल्छी गाउँपालिकाका ६ परिवारका सात जना अपाङ्गता भएका व्यक्तिलाई राहत सामग्री उपलब्ध गराएको हो । सहयोग गरिएका राहत सामग्री गाउँपालिकामार्फत प्रभावित परिवारलाई वितरण समेत भइरहेको छ ।
अपाङ्गता भएका मनिषा थापा, समिन श्रेष्ठ, विमल तामाङ, गोपाल अधिकारी, शुशिला काराखेती र राजकुमार अधिकारीका परिवारलाई लत्ताकपडा, स्वास्थ्य सामग्री, ग्यास चुलो, डसना, खाद्यान्न तथा सरसफाइ सामग्री उपलब्ध गराइएको छ । राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत आवश्यकताको आधारमा पालिकाले क्षति पुगेका घरपरिवारलाई सामग्री वितरण गरिरहेको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो। झापली मिलन केन्द्र, भक्तपुरका अध्यक्ष अग्नि ढकालका अनुसार गाउँपालिकालाई महिला तथा पुरुषका लागि ६ बोरा कपडा, थप झोलामा कपडा, ६८ केस मिनरल वाटर, आठ थान डसना र खाद्यान्नलगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ। भोटेकोशी बाढीबाट गल्छी गाउँपालिकामा २ सय ६० घरमा क्षति पुगेको थियो । तीमध्ये १ सय १४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बाढीपछि राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावितले आवश्यकता अनुसार सामग्री पाउन सकून् भन्ने उद्देश्यले एकद्वार प्रणालीबाट राहत व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।



सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL