धादिङ । २०८३ भदौ १९ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले गजुरी गाउँपालिका–५,  गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जङ्गलमा बस्न बाध्य भएका छन् ।

घरमा बस्न सक्ने अवस्था नभएपछि गलौदी माथिको वन सवडिभिजन क्षेत्रको जङ्गलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको छ ।

होल्डिङ सेन्टरमा ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेको प्रभावितहरूले बताएका छन् । गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

४२ परिवार जङ्गलमा बनाइएको होल्डिङ सेन्टरमा बसेका छन् भने अन्य प्रभावित परिवार आफन्त र नातेदारको घरमा आश्रय लिएर बस्नु भएको छ ।

जङ्गलमा बनाइएको होल्डिङ सेन्टरमा प्राथमिक तथा अति आवश्यक खाद्यवस्तुको व्यवस्था गरिएको छ । तर, प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन् । खानेपानी, स्वास्थ्य सेवा, बिजुली, कपडा, भाँडाकुँडा र झुलको अभाव छ ।

होल्डिङ सेन्टरमा चार जना अपाङ्गता भएका व्यक्ति, कम्तीमा ३० जना बालबालिका र ७० वर्षभन्दा माथिका दुई जना ज्येष्ठ नागरिक महिला छन् । जङ्गलमा बस्नुपर्दा उहाँहरूलाई थप समस्या भइरहेको छ ।

होल्डिङ सेन्टरमा बिजुली छैन । रात परेपछि जङ्गल अँध्यारो हुन्छ । बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रातको समयमा हिँडडुल गर्न कठिन हुने गरेको प्रभावितहरूले बताउनु भयो । “स्वास्थ्य सेवा पनि छैन । कसैलाई बिरामी परे उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ।” प्रभावित एक व्यक्तिले बताउनु भयो ।

बाढीले घरसँगै घरभित्रका अन्न, लत्ताकपडा, भाँडाकुँडा र दैनिक प्रयोगका सामानसमेत बगाएको छ । धेरै परिवारसँग लगाउने कपडासमेत छैन । अन्न र भाँडाकुँडा नभएपछि प्रभावितहरूले सामूहिक रूपमा खाना बनाएर खाने गर्नुभएको छ ।

“घरमा केही रहेन । अन्न र भाँडाकुँडा समेत छैन । त्यसैले सामूहिक रूपमा खाना बनाएर खाने गरेका छौँ,” प्रभावित तथा गजुरी गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनु भयो ।

जङ्गलमा लामखुट्टेको समस्या भए पनि प्रभावितसँग झुल छैन। राति लामखुट्टेबाट  जोगिन कठिन हुने गरेको उहाँहरू बताउनुहुन्छ । खानेपानीको समेत समस्या छ। पानी पर्दा त्रिपालभित्र पानी पस्ने समस्या पनि हुने गरेको छ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू विद्यालय जान सकेका छैनन्। घरबारविहीन भएपछि उहाँहरूको पढाइ रोकिएको छ। अस्थायी आश्रयस्थलमा पढ्ने वातावरणसमेत छैन।

गलौदीका बाढी प्रभावितको संख्या र होल्डिङ सेन्टरमा बस्ने परिवारको तथ्यांकमा समेत फरक देखिएको छ । गजुरी गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार होल्डिङ सेन्टरमा २० घरका ९३ जना मात्र रहेका छन् । होल्डिङ सेन्टर हेर्ने यकेन्द्र चेपाङले पनि गाउँपालिकाको तथ्याङ्क यही रहेको बताउनुभयो ।

तर इन्सेकसहितको टोलीले गरेको स्थलगत तथ्याङ्क संकलनमा भने होल्डिङ सेन्टरमा ४२ परिवार बसेको भेटिएको छ । प्रभावित राजेन्द्रविक्रम बस्नेतले पनि ४२ परिवारलाई होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको बताउनुभएको छ।

तथ्याङ्कमै फरक परेपछि राहत र सहयोग वितरणमा समेत समस्या देखिएको प्रभावितहरूको गुनासो छ । पालिकाको तथ्याङ्कलाई आधार मानेर राहत तथा सहयोग दिइँदा स्थलगत रूपमा रहेका सबै प्रभावित परिवार समेटिन नसक्ने अवस्था देखिएको छ। वास्तविक प्रभावितको संख्या र परिवारको अवस्था एकिन नगरी राहत वितरण गर्दा कसैले बढी र कसैले कम सहयोग पाउने अवस्था आउन सक्ने प्रभावितहरूको भनाई छ ।
गलौदीमा अहिले खाद्यान्नसँगै सुरक्षित बसोबासको आवश्यकता छ ।

गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेकाले प्रभावितहरू तत्काल आफ्नै घर फर्किने अवस्था छैन ।

बाढीले घरबारविहीन बनाएका गलौदीका बासिन्दा अहिले जङ्गलमा त्रिपाल टाँगेर बसिरहनु भएको छ । उहाँहरूलाई तत्काल राहतसँगै सुरक्षित बसोबास र आधारभूत सेवाको आवश्यकता छ । त्यसका लागि वास्तविक प्रभावित परिवारको सही तथ्यांक संकलन गरी सोहीअनुसार राहत र सहयोगको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

घर फर्किने अवस्था छैन, जङ्गल छाड्ने सुरक्षित ठाउँ पनि छैन। त्यसमाथि प्रभावितको तथ्याङ्कमै फरक परेपछि गलौदीका बाढीपीडितको समस्या झनै थपिएको छ।

सीताराम अधिकारी