रसुवा । २०८३ कात्तिक २१ गते
रसुवाका बाढी प्रभावित क्षेत्रको पुननिर्माण र सम्पर्कविहीन व्यक्तिहरुको विवरण संकलन गर्ने लगायतका निर्णय गर्दै ०८३ कार्तिक २० गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक रसुवामा सम्पन्न भएको छ ।
बैठकमा रसुवा–भोटेकोशी बाढीका कारण सम्पर्कविहीन वा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा छलफल गरिएको छ । बैठकले रसुवाका स्थानीय तहहरूका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णय अनुसार उक्त विवरणलाई औपचारिक रूपमा अनुमोदन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

साथै, भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया, २०८३ बमोजिम लाभग्राहीको पहिचान गर्ने विषयमा समेत विस्तृत छलफल भएको छ । उक्त बैठकमा आमाछोदिङमो गाउँपालिका– १ हाकुबेसी गाउँका १ सय ५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् ।
बाढीका कारण नदी कटान र पहिरोको जोखिममा परेकोले सरकारले सुरक्षित आवासको अधिकार दिनुपर्ने बताउदै हाकुबेसीका निमा कैसाङ तामाले बाढी पछि गाउँ पहिरोको जोखिममा रहेकोले अन्यत्र सर्नुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले भूगर्भविद्ले अध्ययन गरेपछि उक्त विषयमा निर्णय लिने बताउनुभयो ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL