रसुवा । २०८३ असोज २२ गते

भोटेकोसी बाढीपछि सडक सम्पर्कविच्छेद भएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ कोमिनमा तुइनको सहायताले जोखिमपूर्ण ढङ्गबाट राहत सामग्री पुर्‍याइएको छ। सडकमार्ग अवरुद्ध भएपछि नेपाल रेडक्रस सोसाइटीले तुइनमार्फत प्रभावित ४५ घरधुरीलाई कम्बल, ३० घरधुरीलाई हाइजिन किट र १२ घरधुरीलाई म्याट्रेस वितरण गरेको हो।

प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षा र मनोसामाजिक सहयोगका लागि चार जना स्वयंसेवक परिचालन गरी बालमैत्री स्थान सञ्चालनमा ल्याइएको छ। तुइनमार्फत आवतजावत तथा राहत सामग्री ओसारपसारलाई सहज बनाउन यसै सातादेखि थप पाँच जना स्वयंसेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाइटी रसुवाले जनाएको छ।

बाढी आएलगत्तै खोज तथा उद्धारमा २१ जना स्वयंसेवक परिचालन गरी १ सय ४० जनाको उद्धार गरिएको थियो। यस्तै, १७ जना स्वयंसेवक परिचालन गरी शव व्यवस्थापन गरिएको तथा नेपाली सेनालाई ४७ वटा शव व्यवस्थापन झोला हस्तान्तरण गरिएको छ।

बाढी प्रभावित नागरिकमा देखिएको त्रास र मानसिक तनाव कम गर्न अभिमुखीकरणमार्फत २ सय ३० जना तथा स्वयंसेवकमार्फत १ हजार १ सय जनालाई मनोसामाजिक सहयोग प्रदान गरिएको छ। जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री स्थान सञ्चालनमा ल्याइएका छन्, जसबाट ५ सय ५ जना बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्।

रेडक्रसका अनुसार हालसम्म १ हजार २ सय ३० घरधुरीका ६ हजार १ सय ४५ जनालाई राहत सामग्री वितरण गरिएको छ। तीमध्ये ४ सय घरधुरीलाई हेलिकप्टरमार्फत राहत पुर्‍याइएको थियो।

उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा १ हजार लिटर क्षमताको खानेपानी ट्यांकी स्थापना गरिएको छ। नीलकण्ठ होल्डिङ सेन्टरमा वाटर फिल्टर जडान गर्नुका साथै अस्थायी शौचालय र बाँसका फोहरदानीसमेत व्यवस्थापन गरिएको छ।

गोसाइँकुण्ड र कालिका गाउँपालिकासँग प्रभावितको तथ्याङ्क आदानप्रदानका लागि सम्झौता भइसकेको छ। असोज २३ गतेदेखि गोसाइँकुण्ड गाउँपालिकाका ४ सय २६ र उत्तरगया गाउँपालिकाका ६ सय २७ घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता वितरण गर्ने तयारी भइरहेको छ।

नेपाल रेडक्रस सोसाइटी रसुवाका निवर्तमान सभापति बाबुलाल तामाङले जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति तथा मानवीय सहायता क्षेत्रमा क्रियाशील विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै राहत तथा पुनर्लाभका कार्यक्रम अघि बढाइएको बताउनुभयो।

हेमनाथ खतिवडा