सिन्धुली । २०८३ कात्तिक १३ गते

भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका सिन्धुलीका एक व्यक्तिको दुई महिनापछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ ।

२०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीपहिरोमा परी बेपत्ता हुनुभएका दुधौली नगरपालिका–४ का ४५ वर्षीय मोहनविक्रम थापाको परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत थापा बाढीपहिरोमा परी बेपत्ता हुनुभएको थियो । घटनापछि आफन्त र स्थानीयवासीले निरन्तर खोजी गरे पनि उहाँको अवस्था हालसम्म अज्ञात छ ।

दुई महिनासम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक विधिअनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले २०८३ कात्तिक ११ गते कमला नदीमा कुशको प्रतीकात्मक शव बनाएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो । लामो समयसम्म उहाँ फर्किने आशामा प्रतीक्षा गरेको परिवारले कुनै खबर नपाएपछि बाध्य भएर प्रतीकात्मक अन्त्येष्टि गरेको जनाइएको छ ।