धादिङ । २०८३ भदौ २७ गतेअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भोटेकोशी बाढीबाट प्रभावित भएर धादिङको होल्डिङ सेन्टरमा बस्दै आएका परिवारको अवस्थाबारे ०८३ भदौ २७ गते अनुगमन गरेको छ ।

इन्सेकका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी कृष्ण गौतम, बागमती प्रदेश संयोजक शिव खकुरेल, इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीलगायतको टोलीले जिल्लाका दुई होल्डिङ सेन्टरमा पुगेर प्रभावित परिवारको अवस्था बारे जानकारी लिएको छ ।

टोलीले ३८ परिवार बस्दै आएका गजुरी गाउँपालिका–६ पोखरेखोला रातमाटेमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो ।

होल्डिङ सेन्टरमा आधारभूत आवश्यकताका रूपमा बत्तीको अभाव रहेको प्रभावित परिवारले बताएका छन् । केही परिवारसँग भाडा, डसना, ग्यास तथा चुल्होसमेत नभएको प्रभावितहरुको गुनासो छ ।
त्यसैगरी टोलीले गजुरी गाउँपालिका–५, गलौंदीमा रहेको होल्डिङ सेन्टरको पनि अनुगमन गरेको थियो । त्यस होल्डिङ सेन्टरमा ४२ परिवार बस्दै आएका छन् । प्रभावित परिवारले बत्ती र झुल पर्याप्त नभएको बताएका छन् ।

अनुगमनका क्रममा टोलीले स्थानीय जनप्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । अनुगनका क्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’, गल्छी गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कार्की, वडा नं ४ का अध्यक्ष राजु अधिकारी, वडा नं ७ का वडा अध्यक्ष हरि खतिवडा र गजुरी गाउँपालिका–५ का अध्यक्ष गोविन्द लामिछानेसँग प्रभावितको अवस्था र राहत व्यवस्थापनबारे जानकारी लिइएको थियो ।

गजुरी गाउँपालिकाका वडा अध्यक्षहरूले आफ्नो क्षेत्रमा प्रभावित परिवारका लागि राहत व्यवस्थापन गरिएको बताउनु भयो । गल्छी गाउँपालिकाले भने एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई राहत वितरण भइरहेको जानकारी गराएको थियो ।

अनुगमन टोलीले होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारको अवस्था, उहाँहरूले पाउँदै आएको राहत तथा आधारभूत आवश्यकताका विषयमा जानकारी संकलन गरेको छ ।

सीताराम अधिकारी