धादिङ । २०८३ भदौ १४ गते
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदीले बगाएर ल्याएका ५१ वटा शव तथा मानव शरीरका विभिन्न अङ्ग र टुक्रा धादिङमा संकलन गरिएको छ।
शव राख्न जिल्लामा उपयुक्त स्थान र आवश्यक चिस्यान केन्द्रको अभाव हुँदा संकलित शवको व्यवस्थापनमा समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीपछि नदीले बगाएर ल्याएका तथा विभिन्न स्थानमा फेला परेका ३० वटा सग्ला शव संकलन गरिएको छ। तीमध्ये *१२ जना महिलाको र १२ जना पुरुषको शव रहेको छ। त्यस्तै ६ वटा शवको पहिचान तथा लिङ्ग खुल्न सकेको छैन।
यसैगरी, खोज तथा उद्धारका क्रममा मानव शरीरका २१ वटा विभिन्न अङ्ग तथा टुक्रा समेत संकलन गरिएको प्रहरीले जनाएको छ। यसरी जिल्लामा हालसम्म कुल ५१ वटा शव तथा मानव शरीरका अंग र टुक्रा संकलन भएका छन्।
बाढीपछि ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला पर्न थालेपछि तिनलाई सुरक्षित राख्ने र व्यवस्थापन गर्ने चुनौती थपिएको छ। धादिङमा शव राख्नका लागि आवश्यक *उपयुक्त स्थान र चिस्यान केन्द्रको व्यवस्था नभएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव व्यवस्थापनका लागि पहलस्वरूप धादिङबाट केही शव तथा मानव अंग अन्य जिल्लामा पठाइएको छ। पोखरा, कास्कीमा १६ वटा सग्ला शव तथा मानव शरीरका विभिन्न अङ्ग र टुक्रा ११ वटा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो।
त्यस्तै, ६ वटा सग्ला शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइएको उहाँले बताउनुभयो। शवको पहिचान, परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गर्न सहज होस् भन्ने उद्देश्यले ती शव सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको हो।
बाँकी शव तथा मानव अंगहरू भने गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको डीएसपी दाहालले जानकारी दिनुभयो।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले बगाएर ल्याएका शव तथा मानव अंग धादिङका विभिन्न स्थानमा फेला पर्ने क्रम जारी रहेकाले संकलित शवको सुरक्षित भण्डारण, पहिचान र व्यवस्थापनका लागि थप व्यवस्था आवश्यक देखिएको छ।
प्रहरीले फेला परेका शव तथा मानव अंगको पहिचान र सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ। पहिचान खुल्न नसकेका शव तथा मानव अंगको वैज्ञानिक परीक्षण र सम्बन्धित परिवारसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL