धादिङ । २०८३ भदौ १५ गते

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएपछि धादिङ जिल्लामा ५ सय १७ परिवार विस्थापित भएका छन्  । बाढीले त्रिशूली नदी किनारमा रहेका अधिकांश बस्ती, घर तथा टहरा बगाएको छ। महादेवबेँसी, बैरेनी र घाटबेँसी क्षेत्रमा भने बाढीका कारण घरहरू डुबानमा परेका छन्। बाढीसँगै आएको पहिरो र नदी कटानका कारण कतिपय घर पूर्णरूपमा बगेका छन् भने कतिपयमा बस्न सक्ने अवस्था छैन। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढी, पहिरो र डुबानका कारण गल्छी गाउँपालिकाका २ सय ७९ परिवार, गजुरी गाउँपालिकाका २ सय १६ परिवार, बेनिघाट रोराङ गाउँपालिकाका २० परिवार र सिद्धलेक गाउँपालिका–७ का २ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका घरमा रहेका खाद्यान्न, कपडा, भाँडाकुँडालगायतका सामग्रीसमेत नष्ट भएका छन्। घरबास गुमाएका परिवारलाई तत्काल राहत आवश्यक देखिएकाले स्थानीय तहबाट राहत वितरणको कामसमेत सुरु भएको छ । गल्छी गाउँपालिकाले प्रारम्भिक राहतस्वरूप विस्थापित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत वितरण सुरु गरेको छ । अन्य पालिकाले नगद राहत वितरण गरेको जानकारी हालसम्म प्राप्त नभएको प्रशासनले जनाएको छ । गजुरी गाउँपालिकामा बाढीका कारण अवरुद्ध राजमार्ग खुलाउने तथा बाढी र लेदोले पुरिएका घर तथा संरचना सफा गर्ने काममा गाउँपालिका अध्यक्ष आफैं खटिनुभएको छ । बेनिघाट रोराङ गाउँपालिकाले पनि विस्थापित तथा प्रभावित परिवारको व्यवस्थापन र विपद् व्यवस्थापनका लागि आवश्यक पहल सुरु गरेको जनाएको छ। बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, तत्काल खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने र क्षतिको विवरण संकलन गरी थप राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ।

इन्सेक स्रोत व्यक्ति सीताराम अधिकारीले गर्नुभएको अनुगमनका क्रममा गजुरी गाँउपालिका– २ फुर्के खोला बजारको वर्तमान अवस्था ।

सीताराम अधिकारी