नुवाकोट । २०८३ कात्तिक १२ गते
बाढी पीडितहरूको समस्या, माग तथा पुनःस्थापनाका विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले नुवाकोटमा ३३ सदस्यीय बाढी पीडित सरोकार समिति गठन गरिएको छ। भोटेकाशी हुँदै त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित नुवाकोटका विभिन्न स्थानका पीडितहरूको कात्तिक ९ गते बसेको भेलाले भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोट गठन गर्ने निर्णय गरेको हो ।
भेलाले सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजकमा सुरेन्द्र केसी, रामहरि अधिकारी र अष्टमान डंगोल रहेका छन् । त्यस्तै, सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरणप्रसाद अधिकारी तथा कोषाध्यक्षमा शम्भु सिग्देल चयन हुनुभएको छ ।
समितिका सदस्यहरूमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अमात्य, हरिप्रसाद अधिकारी, बवि रिमाल, काजीमान डंगोल, रामचन्द्र बडाल लगायत हुनुहुन्छ ।
यस्तै समितिको सल्लाहकारमा नारायणप्रसाद खतिवडा, राजेन्द्र श्रेष्ठ, अमजद आलम र दिलबहादुर गुरुङ लगायत रहनुभएको छ ।
समितिले बाढीपहिरोबाट प्रभावित परिवारका समस्या, माग तथा पुनःस्थापना र पुनर्निर्माणसँग सम्बन्धित विषयलाई सम्बन्धित सरकारी निकायसमक्ष पुर्याउने लक्ष्य राखेको छ । भेलामा सहभागीहरूले सरकारले पुनःस्थापना तथा पुनर्निर्माणको काममा ढिलाइ गरेको भन्दै गुनासो समेत गरेका छन् ।
पीडितहरूका अनुसार पुनःस्थापना र पुनर्निर्माणमा भइरहेको ढिलाइका कारण प्रभावित परिवारले अझै पनि विभिन्न समस्या भोग्नुपरेको छ । उहाँहरूले आफूहरूका समस्या समाधानका लागि प्रभावकारी पहल गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
नवगठित समितिले बाढीपहिरो प्रभावितहरूको आवाजलाई संगठित गर्दै प्रभावितहरूका माग सम्बन्धित निकायसम्म पुर्याउने र समस्या समाधानका लागि पहल गर्ने अपेक्षा गरिएको छ ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL