रसुवा । २०८३ कात्तिक १२ गते

रसुवा । भोटेकोसी नदीमा ०८३ भदौ १० गते आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि आमाछोदिङ्मो गाउँपालिकाका किसानले उत्पादित तरकारी बजारसम्म पुर्‍याउन सास्ती भोग्दै आएका छन् । बाढी गएको दुई महिना बितिसक्दा पनि पुल पुनर्निर्माण नहुँदा किसान तुइनको भरमा बन्दा नदीपारि तार्न बाध्य भएका छन् । यातायात सम्पर्क विच्छेद हुँदा यस वर्ष करिब ३ करोड रुपियाँ बराबरको बन्दा बिक्री हुन नसक्ने जोखिम बढेको छ ।

आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका किसानले बन्दा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका छन् । तर, बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन कठिन भएको हो । वैकल्पिक मार्गको अभावमा किसानले जोखिम मोलेर तुइनबाट बन्दा तारेर गाडी भएको स्थानसम्म पुर्‍याउनुपर्ने बाध्यता छ ।

“तुइनबाट थोरै सामान ढुवानी गरेर कहिलेसम्म बजार पुर्‍याउने ? पुल चाँडै निर्माण भए मात्रै ढुवानी सहज हुन्छ,” आमाछोदिङ्मो गाउँपालिका–३ का किसान मार लामाले भन्नुभयो ।

तुइनबाट कृषि उपज ढुवानी गर्दा अतिरिक्त श्रम र खर्च लाग्ने गरेको किसानको भनाइ छ । समयमै बजार पुर्‍याउन नसके बन्दा खेतबारीमै कुहिने र उचित मूल्य नपाउने चिन्ता उनीहरूमा बढेको छ । किसानले काठमाडौंसहित बुटवल, नारायणगढ, पोखरा र सर्लाहीलगायतका बजारमा बन्दा बिक्री गर्दै आएका थिए ।

गतलाङमा गत वर्ष बन्दा खेतीबाट प्रतिपरिवार ५० हजारदेखि ६ लाख ५० हजार रुपियाँसम्म आम्दानी भएको थियो । स्थानीयका अनुसार गत वर्ष गाउँमा बन्दा खेतीबाट करिब २ करोड रुपियाँको कारोबार भएको थियो । यस वर्ष उत्पादनले बजार पाउन सके करिब ३ करोड रुपियाँ बराबरको बन्दा बिक्री हुने अनुमान गरिएको छ ।

स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङका अनुसार गाउँका झण्डै ४ सय घरधुरीले सयौँ रोपनी जग्गामा बन्दा खेती गर्दै आएका छन् । गतलाङमा तीन वर्षदेखि व्यावसायिक बन्दा खेती फस्टाएपछि यस वर्ष आमाछोदिङ्मो गाउँपालिका–२, ४ र ५ का किसानले समेत बन्दा खेती गरेका छन् ।

“गाउँभरिको करोडौँ मूल्य बराबरको कृषि उपज संकटमा परेको छ । स्याफ्रुबेँसीमा बेलीब्रिज निर्माण गर्नुपर्ने भए पनि ढिलाइ भइरहेको छ । यसरी तुइनबाट कहिलेसम्म तरकारी तार्ने ? किसानको करोडौँको उत्पादन खेर जाने अवस्था आएको छ,” तामाङले भन्नुभयो ।

आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका तेन्जीनिमा तामाङले गत वर्ष ६ जना दाजुभाइ मिलेर ३० रोपनी जग्गामा बन्दा खेती गरी २० लाख रुपियाँ आम्दानी गर्नुभएको थियो । यस वर्ष उहाँहरूले ३५ रोपनी जग्गामा बन्दा खेती गर्नुभएको छ ।

“आलु खेतीभन्दा बन्दा खेतीबाट बढी आम्दानी हुन थालेपछि गाउँका किसान बन्दा खेतीतर्फ आकर्षित भएका हुन्,” उहाँले भन्नुभयो, “लेकाली बन्दा बुटवल, नारायणगढ, पोखरा र सर्लाहीसम्म पठाउने गरेका थियौँ । यस वर्ष बाढीले बिगारेको सडक र पुल चाँडै बनाउनुपर्छ । तुइनको भरमा सबै उत्पादन ढुवानी गर्न सम्भव छैन ।”

बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसानको कृषि उपजले बजार पाउन सकेको छैन । किसानले पुल पुनर्निर्माणलाई तीव्रता दिन र पुल नबन्दासम्म कृषि उपज ढुवानीका लागि वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । समयमै यातायात सञ्चालनमा नआए बन्दा खेतीमा गरेको लगानी र वर्षभरको मेहनत खेर जाने चिन्ता किसानमा छ ।

हेमनाथ खतिवडा