नुवाकोट । २०८३ असोज २ गते

बाढीबाट नुवाकोटमा पुगेको जनधन तथा भौतिक पूर्वाधारको क्षति र प्रभावित नागरिकको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समितिको ०८३ असोज १ गतेको बैठकमा छलफल भएको छ। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो। बैठकमा सहभागीहरूले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको अवस्था, राहत तथा उद्धारका क्रममा भएका काम र आफ्नो संस्थाले प्रभावित क्षेत्रमा गरेको सहयोगबारे जानकारी गराएका थिए। विभिन्न संस्थाका प्रतिनिधिले बाढी प्रभावित क्षेत्रको अवस्था तथा तत्काल आवश्यक सहयोगका विषयमा समेत धारणा राख्नुभएको थियो ।

यस्तै, बाढीका कारण सडक, पुल, खानेपानी, विद्युत्लगायतका भौतिक पूर्वाधारमा पुगेको क्षतिको विवरणसमेत बैठकमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले तत्कालीन राहतसँगै प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो । बाढीपछि जिल्लामा देखिएको समस्याको समाधानका लागि सरकारी निकाय, राजनीतिक दल, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बैठकमा सहभागीहरूले बताउनुभएको छ ।

केदार ढकाल