बर्दिया । २०८३ कात्तिक २१ गते

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका बर्दियाका ७४ जनाको नामावली तथा विवरण प्रमाणीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लाका आठवटै स्थानीय तहबाट प्राप्त विवरण तथा आवश्यक कागजातका आधारमा ७४ जनाको नामावली प्राधिकरणमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस गरिएकामध्ये बारबर्दिया नगरपालिकाका सबैभन्दा बढी २५ जना रहेका छन् । त्यस्तै, गेरुवा गाउँपालिकाका १४ जना, राजापुर नगरपालिकाका ११ जना, ठाकुरबाबा नगरपालिकाका १० जना, बाँसगढी नगरपालिकाका सात जना, बढैयाताल गाउँपालिकाका तीन जना तथा गुलरिया र मधुवन नगरपालिकाका दुई–दुई जना रहेका छन् ।

बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित स्थानीय तहबाट पाँच दिन र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट तीन दिनको दाबीविरोधसम्बन्धी सूचना प्रकाशित गरिएको थियो । उक्त अवधिमा प्राप्त निवेदन, विवरण तथा आवश्यक कागजात अध्ययन गरी नामावली प्रमाणीकरणका लागि सिफारिस गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्राधिकरणले तोकेको ढाँचा र प्रक्रियाअनुसार आवश्यक विवरण तथा कागजात संकलन गरी नामावली पठाइएको बताउनुभयो ।

‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ मा भएको व्यवस्थाअनुसार बेपत्ता व्यक्तिका नजिकका हकदारहरूले आवश्यक कागजात र स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिएका थिए ।

स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्रमाणीकरण भई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा प्राप्त ७४ जनाको नामावली तथा विवरण प्राधिकरणमा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाश पौडेल