धादिङ । २०८३ भदौ २८ गते
भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ । बाढीका कारण अस्पतालको भुइँतलामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा विभिन्न उपकरणमा क्षति पुगेपछि केही समयदेखि नियमित स्वास्थ्य सेवा प्रभावित हुँदै आएको थियो ।
बाढीपछि अस्पताल परिसरमा जमेको हिलो तथा फोहोर हटाउनेदेखि क्षतिग्रस्त सामग्री व्यवस्थापन र अस्पताललाई पुनः सञ्चालनयोग्य बनाउन विभिन्न सुरक्षा निकाय, संघसंस्था, समूह तथा स्थानीयवासीले सहयोग गरेका थिए । अस्पताल आफैंले तत्काल सबै संरचना र उपकरण व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले सेवा पुनः सञ्चालन गर्न सहज भएको हो ।
गल्छी गाउँपालिकाको पहलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वृद्धिष्ट चु जी च्यारिटी फाउन्डेसन ताइवानले अस्पतालका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा पूर्वाधार सहयोग गरेपछि अस्पताललाई पुनः व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको हो ।

बैरेनी अस्पताल उद्घाटन तथा स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका तर्फबाट आकस्मिक उपचारमा आवश्यक पर्ने करिब २ सय २७ किसिमका औषधि, ५० किसिमका सर्जिकल सामग्री तथा विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियो । सहयोगमा यूएसजी मेसिन, एनेस्थेसिया मेसिन, प्रयोगशालाका आवश्यक उपकरणलगायत अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार र फर्निचरसमेत रहेका छन् ।
फाउन्डेसनका उपाध्यक्ष लेन पि युले सामग्री हस्तान्तरण गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले पृथ्वी, मानव र जनावरलाई प्रेम गर्न तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
जलवायु परिवर्तनका कारण यस्ता विपद्का घटना बढिरहेको उल्लेख गर्दै उहाँले भोटेकोसीमा आएको बाढी तथा हिमपहिरो एकै दिनमा सिर्जना घटना नभई लामो समयको वातावरणीय परिवर्तन र त्यसपछि आएको प्राकृतिक घटनाको परिणाम भएको बताउनुभयो ।
बैरेनी अस्पतालमा जस्तै बाढीबाट प्रभावित रसुवा र नुवाकोटका अस्पतालले पनि विपद्पछिको पुनःस्थापना र सेवा सञ्चालनका लागि यसबाट सिक्न सक्ने उहाँले बताउनुभयो।
कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले विपद्को समयमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको फाउन्डेसनसहित अस्पताल पुनः सञ्चालनका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
बाढीका कारण अस्पतालका उपकरणसहित स्वास्थ्य सेवामा ठूलो क्षति पुगेको अवस्थामा प्राप्त सहयोगले स्थानीय नागरिकलाई पुनः सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो ।
अध्यक्ष खतिवडाले विपद्को समयमा अस्पतालको हिलो सोर्नेदेखि पुनःस्थापनामा जुट्ने, आर्थिक तथा भौतिक सहयोग गर्ने र प्रभावितलाई हौसला प्रदान गर्ने सबैको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । प्राप्त सहयोगबाट अस्पताल सञ्चालनका लागि उपलब्ध भएका सामग्री जनताको उपचार सेवामा प्रयोग गरिने उहाँको भनाइ थियो ।
गल्छी गाउँपालिका–६ का अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, धादिङका पूर्वउपप्रमुख जगन्नाथ नेपाल, गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइ काजी तिवारीलगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण र अस्पताल उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै बैरेनी अस्पतालबाट नियमित स्वास्थ्य सेवा पुनः सुचारु भएको छ । अस्पताल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL